हङ्‍कङ तनाव : एघारौँ हप्ता पनि प्रदर्शन जारी, चीनले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने आशङ्का

Newslaya Home

हङ्‍कङ तनाव : एघारौँ हप्ता पनि प्रदर्शन जारी, चीनले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने आशङ्का

बुधबार २९, साउन २०७६

बिबिसि । हङ्‍कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ । त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ ।

प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए । तर अहिले हङ्‌कङ विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

मङ्गलबार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्‌कङ विमानस्थलमा चेक इन पूरै स्थगित भयो । मध्यरातभन्दा अगाडि सुरक्षाकर्मी र धर्नामा रहेका प्रदर्शनकारीबीच मुठभेड भयो ।

त्यसपछि धेरै प्रदर्शनकारी बाहिर गए भने झन्डै ३० जनाले विमानस्थलमै रात बिताए । प्रहरीलाई भित्र आउन नदिन प्रदर्शनकारीहरूले बाटो थुनिदिएका थिए ।

एक प्रदर्शनकारीले आफूहरूसँग हतियार भएको अस्वीकार गर्दै भने, ‘यहाँ नारा लागेको छ । मैले त कुनै हतियार देखिनँ । उनीहरू केवल शान्तिपूर्ण रूपमा नाराबाजी गरिरहेका छन् ।’

स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थलबाट धर्नाकारीलाई हटाउन अदालतले विमानस्थलको अधिकारीहरूलाई अनुमति दिएको छ ।

चीनले के गर्ला ?
यसबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी गुप्तचर निकायले हङ्‌कङको सीमातर्फ चिनियाँ सेना अघि बढिरहेको जानकारी दिएको बताएका छन् ।

चिनियाँ सरकारले प्रदर्शनकारीहरूको चर्को आलोचना गरेको छ । कतिपयले कतै चीनको धैर्य टुट्ने र उसले प्रत्यक्ष कारबाही गर्ने हो कि भन्ने आशङ्का गरेका छन् ।

तर बेइजिङसँग हस्तक्षेपका लागि कस्ता कानुनी विकल्प छन् र के उसले साँच्चिकै हङ्‍कङमा सैनिक कारबाही गर्ला त ?

बेसिक ल भनिने हङ्‍कङको सङ्क्षिप्त संविधान यसबारे प्रस्ट छ । सो संविधान सन् १९९७ मा यूकेले सो भूभाग चीनलाई हस्तान्तरण गरेपछि लागु भएको हो ।

चिनियाँ सैनिक हस्तक्षेप त्यतिखेर मात्र हुनसक्छ जतिखेर हङ्‍कङ सरकारले त्यसका लागि आग्रह गर्नेछ र त्यसको उद्देश्य सार्वजनिक कानुन व्यवस्था कायम गर्न र विपद्‌मा राहत पुर्‍याउन हुनेछ ।

बेइजिङलाई समर्थन गर्ने हङ्‍कङ सरकारले पनि त्यस्तो आग्रह गर्न खोज्ला भन्ने कुरा असोचनीय भएको अधिकांश विश्लेषक ठान्छन् ।

सैनिक बल प्रयोग भए पनि नभए पनि हङ्‍कङको भूभागमा प्रजातन्त्रवादीहरूलाई हतोत्साही पार्न चिनियाँ सेनाले मार्चपा गरेको तस्बिर उक्त क्षेत्रका निम्ति घातक हुन सक्छ । त्यसले हङ्‍कङको अर्थतन्त्र अस्थिर बनाइदिन र अन्तर्राष्ट्रिय आलोचना निम्त्याउन सक्छ ।