१ करोड २० लाख चिनियाँ आँधीबाट प्रभावित

Newslaya Home

१ करोड २० लाख चिनियाँ आँधीबाट प्रभावित

बुधबार २९, साउन २०७६

बेइजिङ । चीनमा यसै साता आएको ‘लेकिमा’ आँधीका कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन् ।

चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र सहरमा आँधीको प्रभाव परेको हो ।

आँधीका कारण ८९ लाख ७० हजार व्यक्तिलाई गम्भीर प्रभाव पारेको र १७ लाख तेह्र हजार जनालाई आपतकालीन उद्दार गरी सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ ।

आँधीका कारण १३ हजार घरहरू भत्किएका छन् भने एक लाख १९ हजार घरहरूमा क्षति पुगेको छ । आँधीपछि आएको बाढीका कारण नौ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ ।

आँधीका कारण सबैभन्दा धेरै च च्याङमा ३९ जनाको मृत्यु हुनुका साथै ९ जना बेपत्ता भएका छन् । आन्हुईमा ४ जनाको ज्यान गुमेको छ भने ५ जना बेपत्ता भएका छन् । त्यसैगरी शान तुङमा ५ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन् ।

अर्थ मन्त्रालय र आपतकालीन व्यवस्था मन्त्रालयले च च्याङ, च्याङ सु, शान तुङ ३ वटा प्रान्तमा उद्दारका लागि ३० करोड चिनियाँ युआन विनियोजन गरेको जनाएको छ ।