नेपालले पायो तारा र ग्रहको नाम राख्ने अवसर

Newslaya Home

नेपालले पायो तारा र ग्रहको नाम राख्ने अवसर

मङ्गलबार २८, साउन २०७६

काठमाडौँ । नेपालले आकाशगंगामा रहेको एउटा तारा र एउटा ग्रहको नाम राख्ने अवसर पाएको छ ।

नेपाललाई संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय खगोल युनियन (आइएयु)ले उक्त अवसर प्रदान गरेको हो। जसमा नेपालले पृथ्वीबाट १ सय ७२ प्रकाश वर्ष टाढा रहेको ग्रह र त्यसले परिक्रमा गर्ने ताराको नाम राख्ने अवसर पाउने छ ।

खगोल विज्ञानमा प्रकाश वर्ष भनेको प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो। प्रकाशले एक सेकेण्डमा तीन लाख किलोमिटरको यात्रा तय गर्छ।

सन् १९१९ मा स्थापना भएको आइएयुले यो वर्ष शतवार्षिकी मनाउँदैछ। सो अवसरमा नेपालसहित सदस्य राष्ट्रहरुलाई नाम राख्ने अवसर दिएको हो। अहिलेसम्म सौर्यमण्डल बाहिर ४ हजारभन्दा बढी ग्रह पत्ता लागेका छन्।

नेपालले नाम राख्ने तारा र ग्रहको वैज्ञानिक नाम मात्रै छ। जो तारा एचडी १००७७७ र ग्रह एचडी १००७७७ बीको नामले परिचित छन् ।