लागु औषध बेचबिखनमा मेजर : पहिलेदेखि नै थिए प्रहरीको टार्गेटमा

Newslaya Home

लागु औषध बेचबिखनमा मेजर : पहिलेदेखि नै थिए प्रहरीको टार्गेटमा

आइतबार २६, साउन २०७६

इटहरी । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा बसेर लागुऔषध कारोबारमा संलग्न मेजर अजित प्रताप सिंह पक्राउ परेसँगै सुरक्षा निकायमा खैलाबैला मच्चाएको छ ।

खासगरी नेपाली सेनाको पूर्वी मुख्यालयमा बसेर मुख्यालयभित्रै लागुऔषध लाने, प्रयोग गर्ने अनि मुख्यालय अगाडीको पसलबाट बेच्ने काममा सक्रिय मेजर सिंह पक्राउ पछि सुरक्षा संयन्त्रभित्रको बेथिती उजागर गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इटहरी प्रहरीको संयुक्त टोलीले उनलाई डेढ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो । लागु औषधको परिणाम धेरै नभएपनि उनले यसरी बेच्न थालेको निकै भएको थियो । प्रहरीले सिंहलाई विगत केही महिनादेखि निरन्तर अनुगमन गरिरहेको थियो ।

दुई महिना अघि १६ बर्षिय बालकको साथबाट ब्राउन सुगर भेटिएपछि अनुसन्धानको धागोले मेजरलाई तानेको थियो । मेजर प्रायः पुराना ग्राहकहरुलाई मात्र लागुऔषध सप्लाइ गर्थे ।

उनलाई शनिबार भने ब्यारेक नजिकैको क्याफेबाट समातेको हो । पुराना ग्राहकको सहयोगमा उनलाई त्यहाँ बोलाइएको थियो ।

अहिले मेजर सिंहलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी अनुसन्धान भइरहेको छ ।

खासगरी सेनाका जवान र अधिकारीलाई सेनाले नै अनुसन्धान गर्छ । तर जघन्य अपराध भने प्रहरी आफैले हेर्ने गरेको छ । लागु औषधको विषयमा कसले अनुसन्धान गर्ने टुंगो लागिसकेको छैन ।