बेलबारीमा ड्रिमल्याण्ड : सौर्यमण्डलदेखि स्वीमिङपुलसम्म एकै ठाउँ

Newslaya Home

बेलबारीमा ड्रिमल्याण्ड : सौर्यमण्डलदेखि स्वीमिङपुलसम्म एकै ठाउँ

शनिबार २५, साउन २०७६

बेलबारी । होटल, रेष्टुरेन्टदेखि स्वीमिङ पुल अनि गेष्ट हाउससम्म समेटिएका पार्कहरु त सबैले देखेकै छौं, तर त्यबाहेक पनि धेरै विशेषता समेटेर सबैलाई छक्क पार्ने गरी बेलबारीमा बन्दैछ, ‘ड्रिमल्याण्ड पार्क’ ।

मोरंगको विकासोन्मुख नगर बेलबारी शहरलाई नै चिनाउने सम्भावना बोकेको यो पार्क निर्माणाधिन छ । बेलबारी ३ मा १४ कठ्ठा क्षेत्रफलमा अनौठो र रमाइलो पार्क निर्माण भइरहेको छ ।

पार्कभित्र बालबालिकाहरुदेखि युवा र वृद्धहरु सबैलाई हुने गरी विभिन्न विशेषता तथा सुविधा समेटिएका छन् । आम पार्कमा हुने रेष्टुरेन्ट, गार्डेन, गेष्ट हाउसदेखि पार्टी हल त छ नै, त्यसबाहेक यति सानो क्षेत्रफलमा स्वीमिङ पुलसमेत अटाएको छ । त्यती मात्र होइन, भिआर गेमसहितको इन्डोर चाइल्ड पार्क, परिलोक, नेपालमै पहिलो पटक सिमेन्टेड प्लानेटेरियम डोम, एरोबिक, जुम्बासमेतको व्यवस्था छ ।

निकै सानो ठाउँलाई पनि सदुपयोग गरेर संरचनाहरु बनाइएका छन् । ठाउँ ठाउँमा फाइबरका आकर्षक मूर्तीहरु छन् । केही सातामै सञ्चालनमा आउन लागेको यो पार्कलाई वास्तवमै ड्रीमल्याण्ड बनाउने योजनामा लागिपरेका छन्, पार्कका सञ्चालक विजय सुवेदी ।

श्रीमती सुषमा आचार्यसँग मिलेर उनले यो पार्क निर्माण गरिरहेका हुन् । होटल व्यवस्थापन विषयमा गरेको काम र शिक्षणको लामो अनुभवलाई उनले यो पार्कमा खन्याएको बताए । ‘विदेशी भीसा त्यागेर मेरो जन्मभूमीको लागि केही गर्न भनेर आएको छु,’ उनले आफ्ना बुवा, बाजेले योगदान दिएर बनाएको ठाउँमा अझै विशेषता थप्न पार्क बनाएको बताउँदै भने, ‘यो सुरुवात हो, सुपरमार्केट, पार्टी प्यालेस अनि बुवाहरुको नाममा ट्रष्ट पनि सञ्चालन गर्ने योजना छ ।’

बेलबारीमा मात्र नभएर विराटचोक पूर्व र बिर्तामोड पश्चिम कतै पनि व्यवस्थित घुम्ने, बस्ने पार्क तथा सुविधासम्पन्न होटल नभएकोले पनि आफूहरुले लगानी गरेको उनी बताउँछन् । ‘हुन त बेलबारीको ६० हजार जनसंख्या यो पार्कको लगानीका हिसाबले सानो हो,’ उनी भन्छन्, ‘तर बेलबारी सम्भावना बोकेको नगर हो, अनि यो बाटो भएर हिड्ने हजारौं मानिसको लागि पार्क सहज पहुँचमा छ, हाइवेबाट एक मिनेट पनि लाग्दैन ।’

सुवेदीसँग नेपालकै टप होटल मेनेजमेन्ट कलेजहरु तथा होटलहरुमा काम गरेको अनुभव छ । त्यहाँ उनले धेरै विद्यार्थीलाई शिक्षा दिएका छन् । उनले पढाएका विद्यार्थीहरुले नै अहिले देशका विभिन्न ठूला होटलहरुमा काम गरिरहेका छन् ।

बेलबारीमा यो पार्क बनिसक्दा उनलाई डेढ सय बढी कर्मचारी चाहिन्छ । ‘सबै कर्मचारी आफै यहीँ नै उत्पादन गर्ने योजनामा छु,’ उनी भन्छन्, ‘व्यवस्थापकका साथै म शिक्षक पनि हुँ, त्यसैले जनशक्ति तयार गरेर यहीँका युवालाई रोजगारी सृजना गरिदिन्छु ।’

उनलाई आफ्नो हजुरबुवा र बुवाले बेलबारीको विकासको लागि दिनुभएको योगदान अहिले पनि झल्झली याद आउँछ । त्यो योगदानलाई आधुनिक समाजले नबिर्सिदिओस् पनि भन्ने चाहन्छन् । ‘चहकमानको नाती र सुर्यबहादुरको छोरोको रुपमा आफूलाई चिनाउन पाउँदा खुसी लाग्छ,’ उनी भन्छन्, ‘त्यसैले पार्कमा मैले वहाँहरुको प्रतिमा पनि बनाएको छु ।’