रामकृष्ण ढकाललाई छल गर्यो सहकारीले, चार वर्षमा तेब्बर भयो ऋण

Newslaya Home

रामकृष्ण ढकाललाई छल गर्यो सहकारीले, चार वर्षमा तेब्बर भयो ऋण

शुक्रबार २४, साउन २०७६

काठमाडौं । गायक रामकृष्ण ढकालले गाएको एउटा गीत खुबै चर्चित थियो । छल गर्यो मायाले ... ।

उनको जीवनमा घर परिवार नै उठीबास लगाउने गरी सहकारीले छल गरेको छ । ढकाल र उनकी पत्नी निलम शाहले लिएको ऋण तिर्न नसक्दा सहकारीले ७० सालमा उनको घर जग्गा न्युनतम मूल्यांकन गरेर लिलाम गर्यो । त्यसबाट पनि ऋण असुल नभएको भन्दै फेरी अहिले आएर पाँच करोड रुपैया तिर्नुपर्ने देखाएपछि विवाद उत्पन्न भएको छ ।

ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेको छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको बताएका छन् ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर सहकारी आफैले एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । तर, लिलामीको मूल्यले पनि ऋण असुलउपर नभएपछि ढकाललाई ताकेता गरेको, तर ऋण तिर्न वास्ता नगर्दा बढेर पाँच करोड पुगेको सहकारीले जनाएको छ ।

सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।

०६६ सालमा घर धितो राखी निलमका नाममा १ करोड ८० लाख रुपैयाँ कर्जा निकासा भएको थियो । तर ढकाल दम्पत्तीले किस्ता र ब्याज तत्काल तिर्न सकेनन् ।

०७० सालसम्म आइपुग्दा उनीहरुको ऋणको ब्याज बढ्दै गएर २ करोड ३७ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब निस्केपछि ७० सालमा सहकारी आफैले एक करोड ५० लाख मूल्यांकन गरेर घर लियो ।

घर लिलामपछि निलमको नाममा अझै ८७ लाख र रामकृष्णको नाममा ५७ लाख रुपैयाँ बाँकी देखाइयो । त्यतिबेलाको कुल १ करोड ४४ लाख रुपैयाँमा ब्याज र हर्जाना जोड्दै सहकारीले यतिबेला दुवैजनाको गरी झण्डै ५ करोड ऋण देखाएको छ ।

यसबिचमा ढकालले जिल्ला अदालत पाटनमा दायर गरेको मुद्दामा ०७२ सालमा ढकालको पक्षमा फैसला आयो ।

ढकालले आफ्नो घर लिलामीपछि थप ऋण तिर्नु नपर्ने आदेश माग गरेकोमा हरहिसाब लगाइरहनुपर्ने अवस्था नदेखिएको फैसला गरिदिएको थियो । तर चार वर्षसम्म चुपचाप बसेको सहकारीले अहिले आएर सुचना निकालेर मानहानी गरेको ढकालको आरोप छ ।