प्रधानमन्त्री रोजगार कार्यक्रम सफल बनाउन डोजर प्रतिबन्ध

Newslaya Home

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल बनाउन डोजर प्रतिबन्ध

शुक्रबार २४, साउन २०७६

काठमाडौं । सरकारले एक करोड रुपैयाँसम्मका आयोजनामा डोजर प्रयोग गर्न रोक लगाएको छ ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशका–२०७५’ मा १ करोडसम्म लागतका आयोजनाहरु डोजर लगायत हेभी मेसिनरी उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

अब यस्ता आयोजनामा मानवीय श्रमशक्तिबाटै काम गर्नुपर्नेछ । सार्वजनिक क्षेत्रमा रोजगार प्रत्याभूत गर्ने गरी सरकारले जारी गरेको निर्देशिकाअनुसार नेपाल सरकार, प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायहरुसहित स्थानीय तह सबैले एक करोडसम्मका योजना सम्भव भएसम्म मानवीय जनशक्तिबाटै सञ्चालन गर्नुपर्नेछ ।

हालसम्म स्थानीय तहमा १७ लाख युवाले बेरोजगारका रुपमा आफ्नो नाम दर्ता गराएका छन् । उनीहरुलाई कम्तीमा ९० दिन रोजगारी दिनुपर्ने र नभए आधा समयको प्रोत्साहन भत्ता (बेरोजगार भत्ता) दिनुपर्ने रोजगार ऐनमा व्यवस्था छ ।

प्राविधिक रुपमा असम्भव स्थानमा डोजर प्रयोग गर्न भने निर्देशिकाले रोक लगाउँदैन । यसका लागि प्राविधिक टोलीको सिफारिस चाहिने परिपत्रमा उल्लेख छ ।