तलब नपाएपछि सन्दीपसहितका खेलाडीले गरे क्यानडामा आन्दोलन

Newslaya Home

तलब नपाएपछि सन्दीपसहितका खेलाडीले गरे क्यानडामा आन्दोलन

बिहीबार २३, साउन २०७६

ओटावा । ग्लोबल टी २० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलन गरेका छन् । जसका कारण लिगको दोस्रो चरणअन्तर्गतकोे खेल २ घन्टा ढिलो सुरु भएको थियो ।

आन्दोलनमा रहेका दुवै टिमका खेलाडी मैदान जानका लागि बसमा चढ्न अस्वीकार गरेका थिए । खेलाडीले होटलमै बसेर तलब नदिएको भनेर विरोध जनाएका थिए ।

‘मोन्टेरियल टाइगर्स र टोरन्टो नेसनल्स क्लबबीच बुधबारका लागि निर्धारण गरिएको खेल टिम र खेलाडीबीच केही प्रक्रियागत कुरा कारण ढिलाइ भएको थियो । पछि सबै सरोकारवालाबीच बसेर समस्या समाधान भएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ।

ग्लोबल टी २० मा नेपालका २ जना खेलाडी आबद्ध छन् । युवा लेग स्पिनर सन्दीप लामिछाने टोरन्टो नेसनल्समा ६० हजार डलर र तीव्र गतिका बलर सोमपाल कामी विन्नीपेग हक्समा ३ हजार डलरमा आबद्ध भएका छन् ।

टोरन्टोको टिमको आन्दोनलको नेतृत्व भारतीय क्रिकेटर युवराज सिंहले गरेका थिए ।

यसअघि भ्यानक्यवर र विनिङपेग हग्सबीचको खेलअघि पनि खेलाडीले आन्दोलन गर्ने तयारी गरेका थिए ।