विराटनगरको क्रिकेट रंगशालामा अनियमितता : कागजमा काम सकेर २६ लाख झ्वाम

Newslaya Home

विराटनगरको क्रिकेट रंगशालामा अनियमितता : कागजमा काम सकेर २६ लाख झ्वाम

बिहीबार २३, साउन २०७६

विराटनगर । विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशालामा प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेट व्यापक दुरुपयोग भएको पाइएको छ ।

क्रिकेट खेल्ने पिच बनाउने भन्दै खाल्डो मात्र खनेर २६ लाख रुपैया भुक्तानी लगेको भेटिएको छ ।

मन्त्रालयले २८ लाख खर्च गरेर निर्माण गरेको भनिएको पिचको निर्माण सकिसकेको रेकर्ड कागजमा छ । तर यथार्थमा त्यहाँ खाल्डो र खाल्डोमा जमेको पानी मात्र छ ।

जिल्ला स्वास्थ्य कार्यालयमार्फत नवीन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समितिले कामै नगरी बजेट झ्वाम पारेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङले उपभोक्ता समितिमार्फत रंगशालामा क्रिकेट पिच बनाउने सम्झौता गरेको हो । उपभोक्ता समितिमा राजेश पोखरेल सचिव, अजिता बराल कोषाध्यक्ष तथा सदस्यमा मोहन भण्डारी, रीता न्यौपाने, सन्जु सापकोटा, अरुण सुराना, अधिराज रेग्मी छन् ।

उपभोक्ता समितिले २८ लाख ६२ हजार ३ सय ६१ रुपैयाँ भुक्तानी लिएको स्वास्थ्य कार्यालयका प्रशासन शाखाका अधिकृत हेमुलाल गौतमले जानकारी दिए ।

उपभोक्ता समितिले साइड क्लियर शीर्षकमा १ लाख ७ हजार, एक्जाभेसन शीर्षकमा ९६ हजार ५ सय, अर्थ ब्याक फिलिङ इन क्रिकेट शीर्षकमा १८ लाख ६३ हजार रुपैयाँ भुक्तानी लिएको छ । मैदानमा भने सोलिङबाहेक कुनै काम भएको देखिँदैन ।

समितिका अध्यक्ष नवीन घिमिरेले वर्षातका कारण भदौबाट पुनः काम गर्ने उनले बताए ।

कान्तिपुरबाट