दुई जना सञ्चारकर्मी र एउटी महिलाको कारण पुडासैनीले गरे आत्महत्या

Newslaya Home

दुई जना सञ्चारकर्मी र एउटी महिलाको कारण पुडासैनीले गरे आत्महत्या

बुधबार २२, साउन २०७६

चितवन । सोमबार राती झुन्डिको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु रहस्यमय बन्दै गएको छ । पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।

पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

केही अनलाइनहरुले भने पुडासैनीका पूर्व सहकर्मी तथा चर्चित टेलिभिजन शोका सञ्चालक रवि लामिछानेको नाम उक्त भिडियोमा मुछिएको उल्लेख गरेका छन् ।

लामिछानेले भने पुडासैनी आफ्ना प्रिय भाई रहेको बताउँदै मृत्युमा दुःख लागेको उल्लेख गरेका छन् ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए । सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेको उनले बताएका छन् ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।