छुट्टाछुट्टै घटनामा सुनसरीमा दुई जनाको मृत्यु

Newslaya Home

छुट्टाछुट्टै घटनामा सुनसरीमा दुई जनाको मृत्यु

शनिबार १८, साउन २०७६

सुनसरी । जिल्ला सदरमुकाम इनरुवा–७ बर्छवामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय अर्पण खबास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

यसैगरी, सुनसरीको इटहरी–२० पानीपियास्थित कोशी राजमार्ग जंगलमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक धरान–८ का २३ वर्षीय सञ्जु अग्रवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको को२९प ४१९५ नम्बरको मोटरसाइकलले इटहरी आउँदै गरेको ना२च ६६८९ नम्बरको बोलेरोलाई ठक्कर दिँदा सञ्जु लडेका थिए ।

सडकमा लडेका सञ्जुलाई धरानतर्फ जाँदै गरेको मे१ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार बोलेरोका चालक उदयपुरको बेलटार–३ का ४२ वर्षीय सन्तमान याक्खा र बसचालक झापाको मेचीनगर–१ का ४३ वर्षीय रमेश खतिवडालाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।