त्यो दिन पहिरोले छेकेको लोकसेवा सपना

Newslaya Home

त्यो दिन पहिरोले छेकेको लोकसेवा सपना

– श्रद्धा बस्नेत दवाडी
शुक्रबार १७, साउन २०७६

स्थानीय तहको महिला विकास पाँचौ तहको परीक्षा धनकुटा केन्द्रमा बिहान ८ बजेदेखि सुरु हुँदै थियो ।

परीक्षार्थीहरू बिहान केन्द्रतिर हतारिँदै जाँदै थिए ।

लामो बाटो अनि साउने झरी ।

मुलघाट पुग्नु केही अघि फेदी भन्ने ठाउँमा राती ११/१२ बजेदेखि पहिरो गएर बाटो अवरुद्ध रहेछ । गाडीको जाम निकै थियो ।

सबै परीक्षार्थीहरू हतारिएका थिए । परिक्षा छुट्ने पिरलो थियो । करिब सवा घण्टा बाँकी थियो परीक्षा सुरु हुन ।

जाममा रोकिनेमध्ये धेरैजसो परिक्षार्थीहरु नै थिए । त्यस्तै ५०/६० जना थिए होला ।

जाम तत्काल खुल्ने सम्भावना नदेखेपछि कोही घर फर्कन थाले । तर सरकारी जागिर खाने सपना देखेर लामो समयदेखि तयारी गरिरहेका युवाहरुले सपना मार्न चाहेनन् । परिवारसमेत पाल्ने गरी सुरक्षित रोजगारको सपना देखेर महिनौंदेखि अवसरको खोजीमा आफूलाई तयार गरेकाहरुले सजिलै हार खाएनन् । छेउमै बसेर कुर्न थाले ।

बाटो खुलाउने क्रममा शसस्त्र प्रहरीको गाडीसमेत त्यहाँ आइपुगेको थियो । परिक्षार्थीहरुले प्रहरी इन्चार्जसँग सहयोग मागे । तर बाटो नखुली त कसले पो के गर्न सक्थ्यो र ? फेरी समय पनि निकै कम थियो ।

परिक्षा सुरु हुन एक घण्टा अघिसम्म पनि परीक्षार्थीहरू पहिरोले थुनेको बाटो खुलेर परिक्षा केन्द्र पुग्ने ध्याउन्नमा थिए । तर उनीहरुलाई थाहा थिएन कि पहिरोले बाटो मात्र छेकेन, सँगै उनीहरुको सपना, महिनौंको मेहेनत र अविभावकहरुको आशासमेत छेकिसकेको थियो ।

खुम्च्याएको निधार र अँध्यारो अनुहार लगाएर बसेकाहरुमा नयाँ आशाको सन्चार भयो । परीक्षार्थीहरू सशस्त्र प्रहरीको गाडीमा खाँदाखाँद गर्दै बसे । प्रहरीले पुर्याइदिने भयो । तर गाडी चालक तत्काल त्यहाँ देखिएनन् ।

करिब डेढ घण्टामा बल्लबल्ल बाटो खुल्यो । बाटो खुल्दै गर्दा उता परिक्षा सुरु भइसकेको थियो । अन्ततः परीक्षार्थीहरू आफ्नो झिनो आशालाई कुल्चेर घर फर्कन बाध्य भए ।

यस्ता धेरै मौसमी प्रतिकुलता र प्राकृतिक जोखिमबाट नेपालीहरु बारम्बार प्रभावित हुने गरेका छन् । विपद् व्यवस्थापनका लागि उचित व्यवस्था हुन अझै सकेको छैन । त्यसमाथि हाम्रा नीति नियम निर्माता र सरकारी कर्मचारीहरुको अदूरदर्शीताको कारण दुःख पाउने नेपालीहरुको संख्या धेरै छ । त्यस्तै नेपालीहरुमध्येको एउटा समुह थियो त्यो, जो बाटोमा खसेको पहिरोले गाडी झैं आफ्ना सपना छेकिएको अनुभुत गर्दै फर्केको थियो ।

मनसुनको समयमा परीक्षा केन्द्र धनकुटा पार्नु उचित होला त भन्ने प्रश्नको उत्तर देलान् नदेलान्, तर अधिकारीहरुले यो प्रश्नको उत्तर दिन सक्छन् कि ‘धनकुटामा मात्र परीक्षा केन्द्र किन ?’

एकातिर धनकुटामा परीक्षार्थी धान्न सक्ने गरि बस्न सकिने होटल तथा लजहरू पर्याप्त छैनन् । अघिपछि एक हजार रुपैया नपर्ने होटलको एउटा कोठाकै तीन हजार रुपैयाभन्दा बढी मूल्य तिर्नुपर्छ । परीक्षार्थीको बाध्यतालाई होटल सञ्चालकले ठगीखाने मौका बनाएका छन् ।

बेरोजगार भएकै कारण लोकसेवामा नाम निकालेर जागिर खाने सपना बुनेका युवाले त्यति धेरै खर्च कसरी ब्यहोर्न सक्छन् ? बेरोजगार युवाको यस्तो समस्या कसले बुझीदिने ?

अर्कोतिर बाढी पहिरो प्राकृतिक विपत्ति हो । यस्तो समयमा लोकसेवाले पीडित परीक्षार्थीहरूलाई पुनः परीक्षा गराउने व्यवस्था गर्न सक्दैन र ? वा त्यही दिन पनि परिक्षा केन्द्र फरक फरक ठाउँमा तोकिदिएको हुन्थ्यो भने यस्तो समस्या हुँदैनथ्यो । टाढाबाट आएर परिक्षा केन्द्र नटेक्दै फर्किनुपर्दैनथ्यो ।

तर युवा अनि विद्यार्थीको समस्या बुझ्ने कसले ? बुझेर बुझ पचाउने हाम्रो देशका देशभक्त र राष्ट्रप्रेमी सेवकहरू कानमा तेल हालेर अर्को पट्टी फर्केर बसेको अवस्था छ । आखिर खोइ त ती परीक्षार्थीले परीक्षा दिन पाउने अधिकार ? देशमै बसेर सरकारी सेवामा लाग्छु भन्नेहरुले मौसमको प्रतिकूलताका कारण परीक्षा दिन नपाउँदा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत नगर्ने देशमा हामीले कसरी आफ्नो भविष्य सुरक्षित देख्छौँ ?

सरकार, के हामीलाई पनि राहदानीको लाइनमा बसेर आकाशको बाटो हुँदै पलायन हो भन्न खोजेको हो ? होइन भने वर्षभरि गरेको मेहनत परीक्षा दिन नपाई खेर जाँदा रोएको नेपाली युवालाई एक पटक फेरि परीक्षा दिन पाउने अवसर दिँदा तिम्रो के जान्छ ?

1 प्रतिकृयाहरू प्राप्त
  • Niraj Bhattaraiलेख्नुहुन्छ
  • |
  • शुक्रबार १७, साउन २०७६
Good One