अत्याधिक गर्मीका कारण जापानमा ११ जनाको मृत्यु

Newslaya Home

अत्याधिक गर्मीका कारण जापानमा ११ जनाको मृत्यु

बुधबार १५, साउन २०७६

तोक्यो । जापानमा अत्यधिक गर्मीका कारण एक सातामा ११ जनाको मृत्यु भएको जापानी अधिकारीले जानकारी दिएका छन् । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो ।

गर्मीका कारण अस्पतालमा ५ हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने उनीहरूमध्ये १ हजार १९९ जनालाई अस्पतालमा राखी केही दिन उपचार गर्नुपर्ने देखिएको चिकित्सकले जनाएका छन् । गर्मीका कारण स्वास्थ्यमा समस्या देखिएकामध्ये १ हजार ७९२ जना अस्पतालमा छोटो समयको उपचारपछि घर फर्केका छन् । उनीहरूलाई कम जोखिमयुक्त लक्षण देखिएकाले सामान्य उपचारपछि घर पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा भर्ना भएकामध्ये ५२.६ प्रतिशत बिरामी ६५ वर्षमाथिका वृद्धवृद्धा रहेका छन् । आइची क्षेत्रमा सबैभन्दा बढी ३९३ जना अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका छन् । त्यस्तै ओसाका क्षेत्रमा ३८८ टोकियोमा २९९ जनालाई गर्मीका कारण देखिएको समस्याका लागि उपचार प्रदान गरिराखिएको छ ।

मंगलबार पनि जापानमा तापक्रम बढेको छ । सिन्ह्वा समाचार संस्थाका अनुसार मध्य जापानमा पर्ने गिफीको ताजिमी क्षेत्रमा मंगलबार तापक्रम ३७.१ सेल्सियस पुगेको छ ।