ओ भाइ, कता ?

Newslaya Home

ओ भाइ, कता ?

– नवराज सुवेदी
सोमबार १३, साउन २०७६

प्रश्न गम्भीर छ । गन्तब्यहीन यात्राका सारथी हामी अध्ययन अध्यापनमा खर्चिने समयमा एउटा मोबाइलको स्क्रीनलाई दाह्रा नङ्ग्रा खियाउने जायजेथा ठानेर गुगलको बाटो हुँदै दिन रात भोक प्यास नभनी अथक र अपुर्ण यात्रामा लाग्नुहुने तमाम दाजुभाइहरुमा नमन छ ।

फेसबुकको लहरोमा लहरिदै एउटै परिवार बन्न खोज्ने जब मित्रवत भइन्छ, अर्काको फुटोमा आँखा लगाउदै घुटुक्क थुक निल्नेलाई पनि सम्झना छ । दिनरात नभनी युट्युब लगायतका पोर्न साइड हेरेर राम्रा राम्रा केटा र केटिको कल्पनामा लिन हुनेहरुलाइ पनि विलक्षण प्रतिभा पुरस्कार प्रदान गर्न सुरु गरिदैछ ।

वर्तमान पुस्ता, प्रौढ, वयस्क, सबैखाले उमेर समुहको चालचलन, व्यवहार, शैली, दैनिकीलाई सरसर्ती नियाल्दाँ साँच्चिकै लाग्छ । हामी कता जाँदैछौ ? हाम्रो पुस्ता कता जाँदैछ ? यो एकोहोरो दौडको अन्तिम बिन्दु कहाँ नेर हो ?

अर्ध ज्ञानी महापुरुषहरुको व्यक्तिगत भावनालाई पनि कदर गर्दै आफुलाई लागेको वा आफुले सोचेको मात्र ठिक भन्दा र गर्दा पनि हामी तर्कबितर्क प्रस्तुत गरिहाल्छौँ क्यारे । अब बोल्नोस् तपाईं किन मौन बस्न पर्यो ? तपाइलाई यो अवसर फेसबुकले प्रदान गरेकै छ । आखिर सित्तैमा पाउँदा अलकत्रा पनि खाने हामी छदैछौ क्यारे ।

विषयवस्तुभित्र प्रवेश गर्नुपुर्व म आफैलाई एउटा तराजुमा लगाउँदैछु । जस्ले वस्तु या पदार्थको चेतनशील ओजनलाई मापन गरि अर्धचेतन मानसिकताको तौल हीनतालाई शुन्य किलोग्राम देखाउन सकोस् ।

मेरो घरछेउमा लगभग सातौँ दशकलाई पर्गेलेर आठौँ दशक नेर नेरको जिन्दगी तगार्दै गरेका एकजोडी बा आमा हुनुहुन्छ । वहाँको छोराछोरिका नाममा एउटा छोरी अनि छोरा दुबैको बिहेदान भैसक्यो । छोरीका नाति नातिना तीन जना छन् ।

वर्षमा एक दुई पटक आउँदा हुन् । तर छोरो भने गएको पाँच वर्षमा एकपटक आयो । तीन महिना बसेर फर्कियो ।

‘चाँडै आएस् आएर बिहेदान गरौँला हामी पनि पाका भयौँ भन्ने मेरो अर्ति मानेन । उतैकी गोरिनी बिहे गरेर केटाकेटी भैसक्याछन् । फर्केर कहिले आउलान् र देखौँ जस्तो लाउछ नि, के गर्नु ? यसो कहिलेकही यो नेटबाट देख्न र बोली सुन्न पाउँछ । त्यसैमा मन बुझाउँछु ।’ बाजेको कुरामा आमैले पुलुक्क मतिर हेरेर मुन्टो हल्लाउनु भो ।
भन्नुभो, ‘हो नानी हो । कसैले तातोपानी ताताएर दिए नि हुने जस्तो लाउँछ । धेरै सम्पत्ती किन चाहिने हो र ? आखिर अन्तिममा खालि हात नै जाने हो ।’
उमेरमा सम्पतिको कुराहुन्थ्यो घर गाडी एइस आराम को दाजो गर्ने बा आमै खालिहात सहि मर्नेबेला छेउमा आफ्ना सन्तति देख्न चाहन्छन् ।

ऊ बेला छोराछोरी अमेरिका पठायो भने गाउँ भरी हल्ला हुन्थ्यो । फलानोले छोरो अमेरिका पठायो, यसैपनि छोरालाई अमेरिका पठाउँदा लाग्ने खर्चबर्च जुटाउन जोकोहिलाई हम्मे हम्मे पथ्र्यो ।

यसरी दुःख गरेर हुर्काइ बढाइ पढाइ गरेका सन्तान बुढेसकालमा टाढा हुदा वहाँहरुलाई एक्लोपनले गिज्याइरहन्छ । यो गिज्याइलाई मेटाउन हजुरबुबा अहिले फेसबुक, ट्विटर, इमोजस्ता सामाजिक सन्जालको प्रयोग गर्नुहुन्छ ।

वहाँले आजभोली च्याट गर्न सिक्नुभा’छ । एउटि छुचुन्द्री खाल्की बीस एक्काइसकीलाई खुब जिस्काउनु पनि हुन्छ । ऊ पनि बोलिदिन्छे । मेरो डार्लु भन्दिन्छे ।
त्यो तरुनिले डार्लु भनिदिदा हजुर्बाको धड्कनले घरिघरी आफैलाइ बिर्सन्छ र उसबेलाको जवानीमै छुजस्तो हुन्छ ।

आफ्नो दिन कटाउनलाई अरुको दिन बिताइदिनुहुन्छ । आफुसँग च्याट गराउनका खातिर वहाँले हज्जारौँ रुपैया रिचार्ज कार्डमा सकिसक्नुभयो । को हो, कहाँकी केटी हो, वहाँलाई केही थाहा छैन । प्रोफाइलमा देखिएको तस्वीर वास्तविक हो कि झुटो, त्यो पनि थाहा छैन । तर वहाँ त्यही दुनियाँमा मख्ख हुनुहुन्छ । यो वहाँको बाध्यता पनि होला ।
घरभरी नातिनातिना भए, छोरा बुहारीले घर सजिएको भए, वहाँलाई त्यो फेसबुकको आवश्यक पथ्र्यो होला र ? घरकाले छाडेर गए, हजुरबुवाले काल्पनिक नै भएपनि सजिलो संसार रोजे, सामाजिक सञ्जालको भर्चुअल संसार ।

पब्लिक सर्कलको एउटा ग्राफ तयार गर्ने हो भने इन्टरनेट, फेसबुक, इमो, भाइबरजस्ता सामाजिक सन्जालको प्रयोग यतिधेरै बढ्नुमा वैदेशिक रोजगारले निकै ठूलो भुमिका खेलेको देखिन्छ । प्रायः घर परिवारदेखि टाढिएर देश विदेशमा रहने आफन्तसँग सन्चो बिसन्चो हाल खबर सोध्न र पारिवारिक मेलमिलाप कायम राख्न यस्ता सामाजिक सञ्जाल र एप्लीकेसन उपयोगि मानिएको छ ।

कम खर्चमा बोल्न देख्न र सुन्न पाइने हुनाले नै यो लोकप्रिय भएको हो । तर यहि सन्जालको प्रयोगमा अत्याधिक बढोत्तरी हुँदा वर्तमान पिढिँले यस्लाइ दुरुपयोग गरिरहेका छन् । जस्ले गर्दा सुचनाको क्षेत्रमा फड्को मार्दै गरेको समाज एकलकाँटे समेत बन्दै गइरहेको आरोप लाग्न थालेको छ ।

नयाँ पुस्ता सामाजिक सञ्जालमा भुलेर समाजप्रति उत्तरदायी हुन छाडेको हो कि ? यदि यसो हो भने यसको असर अर्को पुस्तालाई पर्नेछ । व्यक्तिगत स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमा अपाच्य हुने अभिव्यक्तिहरुसमेत व्यक्त हुने गरेका छन् । जुन एउटै समयमा संसारभर फैलिन्छ । सकारात्मक अभिव्यक्ति फैलिए त ठिकै हो, तर नकारात्मक अभिव्यक्तिले समाज र राष्ट्रलाई नै ठूलो क्षती गराउँछ ।

आजभोलि हाम्रो संसार साँघुरिएको छ । यातायातका साधनको विकास, सडक सञ्जालको विकास भएर पनि हामी आजभोलि घरबाटै पनि निस्कन छाडेका छौं । घरको एउटा कोठालाई संसार सम्झन्छौँ । खाटको एउटा कुनामा बसेर मोबाइल चलाउँदै संसारै त्यसैलाई मान्छौं ।
समाचार सुन्न टेलिभिजन हेर्नै पर्दैन मोबाइल मै छ ।
समाचार दिने अनलाइन मिडिया मोबाइलमै छ ।
थप सुचना चाहिए गुगल हातमै छ ।
मनोरन्जन वा सेक्स साइट चाहिए भीपीएन यहि छ ।
छुटेका प्रोग्राम हेर्न युट्युब हातमै छ ।
नाच्नु पर्यो या स्यालिब्रेटी बन्नुपरे टिक्टक पनि छ ।
भावना पोख्न पर्यो, आफ्नोकुरा भन्नपर्यो, फेसबुक छ ।

अब हामीलाई लाग्न सक्छ,
ओहो मसँग के कुराको कमि छ र ? साँच्चिकै हेर्दा लाग्छ सब थोक छ ।
योभित्र एक थान घमण्ड पनि छ ।

हो त नि हामीलाई यहि एक थान घमण्डले नसोचेको ठाउँतिर, गन्तव्यहीन यात्रातिर, गलत दिशातिर, समाजको कुपात्र बन्ने बनाउने तर्खरमा लैजादैछ ।

हो, सबैकुरा हातमै छ तर पनि बस्ने बास छैन, बेलुका खाने घरमा चामल छैन, सब्जी छैन, दाल छैन चिनी, चियापत्ती भाँडाकुँडा अनि एक झप्को निदाउन खाट छैन । एक फेरा न्यानो छर्ने कम्बल छैन । स्कुल छैन, कलेज छैन, कपि कलम छैन, ड्रेस छैन, तरपनि यो पिढिँलाई भबिष्यको चिन्ता छैन । आफै केही गर्नुपरे कुनै योजना छैन, भिजन छैन ।
थाहा छ त केवल चिया खाने होटल थाह छ, डेटिङको गौडो थाहा छ, अनि सामाजिक सञ्जाल थाहा छ, त्यसका प्रयोगकर्ताहरु थाहा छ । त्यहीँ उसका साथी छन्, त्यहीँ उसको संसार छ ।
ऊसँग घरमा बुबाले जोडिदिएको इन्टरनेट छ र दाइले विदेशदेखि ल्याइदिएको एक थान मोबाइल छ ।

प्रविधि र सामाजिक सञ्जाल, जसले हत्या हिंसा, बलात्कार, अपराधजन्य गतिविधिहरु पोस्ट्याइदिने ठाउँ बनाएको छ । अनि अर्कोतर्फ नयाँ र ताजा सुचना बितरक अनलाइन पत्रपत्रिकालाई भिजिटर बढाउने ठाउँ बनाइदिएको छ ।

सहि सुचना तथा व्यक्तित्व अभिवृद्धीका साथै सामाजिक मर्यादालाई कायम गर्दै लेखिने लेख रचनाले अति कम भिजिटर पाउँछन् । तर गलत कृयाकलापका खुराक दिनसके हेडलाइन बेस्सरी बिक्छ । यो एउटा बिडम्बना हो । यस्ले हामीलाई कहाँ पुर्याउछ ?

हाम्रो जस्तो कम बिकासोन्मुख मुलुकमा द्रुतगतिमा बढ्दो सामाजिक सन्जालको प्रयोग र घट्दै गरेको सामाजिक न्याय चेतनाको कारण पनि हाम्रो भविष्य जोखिममा छ । पछिल्लो समय अपराधीले सामाजिक सन्जाललाई प्रयोग गर्दै निकै ठुला ठुला अपराध गरेको प्रस्टै छ ।

सिमित फाइदाका लागि एक आपसमा द्वन्द गराउने, लहडमा लागेर अरुको मान मर्दन गर्ने, खिसिटिउरी गर्ने काम हाम्रो दैनिकी बन्दैछ । अपराधजन्य गतिबिधिका समाचार छ्याप्छ्याप्ती हुनु र उचित न्याय सम्पादनमा कमि भै दण्डहिनताले जरो गाडिरहेको छ ।

कमजोर कानुनको आडमा इन्टरनेटको आधारमा अपराध गर्ने अपराधी हरेक पटक उम्कदाँ गलत क्रियाकलाप गर्न खोज्नेको मनोबल बढ्दो छ । यस्ता बिषय समाजका लागि निकै घातक छन् ।

त्यसैले त हजुरबाको फेसबुक मोह, युवाहरुको छुद्र बोली व्यवहार, कर्मचारिको ढिलासुस्ती, नेतृत्वको नालयकीपन देखेर पंक्तिकार आफै अलमलमा छ । र आफैलाई प्रश्न गर्छ, भाइ अब कता जाने हो ?