बेलवारीमा डेँगु परीक्षण निःशुल्क

Newslaya Home

बेलवारीमा डेँगु परीक्षण निःशुल्क

आइतबार १२, साउन २०७६

बेलबारी । बेलबारी नगरपालिकाले निःशुल्क डेंगु परीक्षण गर्ने भएको छ । झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा डेङ्गुको प्रकोप बढेपछि निजी स्वास्थ्य क्लिनिकले डेङ्गु परीक्षण गर्दा आफूखुशी रकम लिइरहेको बेला बेलबारी नगरपालिकाले भने निःशुल्क परीक्षण गर्ने भएको हो ।

बेलबारीका ३ वटा स्वास्थ्य संस्थाबाट डेङ्गुको निःशुल्क परीक्षण गरिने मेयर ज्ञानेन्द्र सुवेदीले बताए । वडा नम्बर १ मा रहेको बेलबारी स्वास्थ्य चौकी, वडा नम्बर ९ मा रहेको डाँगीहाट स्वास्थ्य चौकी र वडा नम्बर ७ मा रहेको बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु निःशुल्क परीक्षण गरिने मेयर सुवेदीले बताए ।

नगरपालिकाले डेंगुको लार्भा खोजी गर्ने तथा नष्ट गर्नेदेखि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत गरिसकेको छ । विभिन्न वडामा डेङ्गुविरुद्धको औषधी छिट्ने काम समेत सकिएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताए ।