इटहरी नगरपालिकामा भ्रष्टाचारका काण्डै काण्ड

Newslaya Home

इटहरी नगरपालिकामा भ्रष्टाचारका काण्डै काण्ड

- मणिन्द्रकुमार भट्टराई
शुक्रबार १०, साउन २०७६

राष्ट्रिय रुपमा इटहरीले केही वर्षको अन्तरालमा तीन चोटी चर्चा पायो ।

एउटा त इटहरीमा यौन व्यवसाय फस्टाएको बारेमा निकै ठुलो चर्चा भयो । होटल होटलमा र घरका कोठासमेत भाडा लिएर यौन व्यवसाय सञ्चालन गरेको कुरा पत्रपत्रिकालगायत अनेक सञ्चार माध्यमहरुमा आए ।

व्यवसाय गर्न अनेक पहाडे मुलका यूवती राख्ने र भारत सिलिगुडीदेखि पटनासम्मका पुरुष ग्राहक आउने गर्थे । केही यौन सम्बन्धमा बिचमा दलाली गर्ने, युवतीको व्यवस्था मिलाउने, दलालको काम गर्ने व्यक्तिहरुसमेत बेलाबेलामा गिरफ्तारीमा परेका खबरहरु पनि नआएका होइनन् ।
कैलेकाही त १०/१२ वर्षिय बालिकालाई पनि जबरजस्ती यौन व्यवसायमा संलग्न गराएको आरोपमा कतिपय होटल व्यवसायी जेल परे ।

पूर्वाञ्चलमा सबैभन्दा बढी यौन व्यवसाय इटहरीमा भन्ने ठुलै चर्चा भयो ।

त्यसै गरी अर्को चर्चा राजनीतिक घटनाले गर्दा पायो । राजनीति गर्ने नेताहरु स्वार्थी भए । जनताको पक्षमा कहिल्यै काम गरेनन् । आफ्नै व्यक्तिगत स्वार्थमा लागे । आफ्ना नाता गोतालाई मात्र अवसर दिने, जनताको पक्षमा कुनै काम नगर्ने । ढिला सुस्ती, घुसखोरी, भ्रष्टाचारीहरुकै बढुवा भयो भनेर आक्रोशित भएका पार्टीका आफ्नै कार्यकर्ता नेतासँग रिसाए । फलस्वरुप नेकपा एमालेको एउटा कार्यक्रममा प्रमुख अतिथीको रुपमा आएका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आफ्नै कार्यकर्ताले चड्कन लगाए ।

त्यो चड्कनले पनि निकै ठुलो चर्चा पायो । असन्तुष्ट आफ्नै कार्यकर्ताले पनि छोड्दैनन् भन्ने कुराको पाठ नेताहरुलाई त्यो घटनाले राम्रै सिकायो । तर नेताहरुले कति सिके थाहा भएन । जे होस्, यो चर्चा पनि राष्ट्रिय रुपमै फैलियो ।

त्यसपछि तुरुन्तै माआवादी नेता प्रचण्डलाई पनि घेराबन्दीमा पारिएको भन्ने फाटफुट हल्ला सुनियो इटहरीकै तरहरामा । तर त्यो त्यत्तिकै सेलायो ।

हालैको चर्चा निकै गरम छ । निकै लामो समयदेखि इटहरी नगरपालिका भ्रष्टचारमा डङ्डङ्ती गन्हाएको छ । लामो समयदेखि जनप्रतिनिधि विहिन बनेको नगरपालिका भित्र कर्मचारीले एकलौटी रुपमा भ्रष्टाचार गरेको भनिएपनि पटक–पटक स्थानीय राजनैतिक पार्टीको सर्वदलिय संयन्त्र पनि नगरपालिकाका कर्मचारीसँग संलग्न भएको प्रष्टै छ ।

सर्वदलीय निर्णय नभइ नगरपालिकाको काम अघि बढ्दैनथ्यो भन्ने कुरामा त्यसबेला पनि चर्चा भएकै हो । एकोहोरो कर्मचारी मात्रै भ्रष्टाचारी हुन् भन्नु गलत हुन्छ । सर्वदलीय संयन्त्र भनेको इटहरीमाभएका सबै दलका कम्तीमा १/१ जना प्रतिनिधि पार्टीले पठाएर बनेको संयन्त्र थियो । त्यहाँ जानका लागि पार्टीका नेताहरुमा तछाड मछाड गर्थे ।

स्वयम् यो पंक्तिकारले इटहरीमा भएको भ्रष्टाचारको बारेमा लेख्दा कसैको ध्यान गएको थिएन । मुस्किलले एक पल्ट केही नचले पछि सप्तकोशी एफ.एम.को साप्ताहिक कार्यक्रममा प्रश्नपत्र नै तयार पारेर दिँदा नगरपालिकाका इन्जिनियर अर्जुन दाहालले प्रश्नको उत्तर दिनु परेको थियो ।
वहाँले पनि यो प्रश्न अधिकृतसँग सम्बन्धित छ भनेर टारिदिनुभएको थियो ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनपछि ५९ सालमा जनप्रतिनिधि पठाएको म्याद सकिएदेखि स्थानिय निकाय कर्मचारीकै हातमा गयो । राजनैतिक पार्टीले आफ्ना कार्यकर्तालाई गोठालो गर्ने राम्रो उद्देश्य राखेर प्रतिनिधि पठाएको भएतापनि राजनैतिक पार्टीका नेता नै कर्मचारीसँग भ्रष्टाचार गर्न मिलेमतो गरेको महसुस त्यतिबेलैदेखि गरिएकै हो ।

नगरपालिकामा भ्रष्टाचार भएको कुरा फाट्ट फुट्ट रुपमा संयन्त्रमा नजानेहरुले उठाउने गरेका छन् । एकचोटी नेपाली काँग्रेसका हेमकर्ण पौडेलले विरोधै त के भन्ने तथापी विरोध जस्तो गतिविधि गरेका थिए । त्यो बिना तुकको चिया दोकाने चर्चा झैँ सेलायो । त्यसलाई अरुले महत्व दिएनन् वा उनैले त्यो विषय किन हो छाडिदिए, त्यत्तीकै सेलायो ।

त्यसबेला हेभी इक्युपमेन्टले एउटा ट्रक दिएको थियो नगरपालिकालाई । नगरपालिकाले त्यसलाई बिगिँ्रदा मर्मत गरेर चलाउनुको साटो नगरपालिका कम्पाउण्डमै राखेर सडायो । मेयरको लागि प्राप्त गाडी त्यसबेला उपमेयर चढेर आफ्नो घर वार्ड नं. ९ जाँदा माओवादीले जलाई दिए । त्यसलाई कुनै मर्मतको कुरै भएन ।

एउटा सानो दमकल, जस्को मोटर हरायो भनेर दमकलको काम नगर प्रहरी घुमाउन प्रयोग गरियो । त्यसको मोटर कसले बेचेर खायो, खोजी हुनुपर्छ कि पर्दैन ? त्यसैगरि एउटा एम्बुलेन्स नगरपालिकाले प्राप्त गरेको थियो । त्यो मर्मत गर्न भनेर दुहबी, विराटनगर कता लगेको भनेर टारियो । त्यसको कहिँ कतै खोजि भएन ।

यी त भए बाहिर देखिएका केही कुरा । निर्वाचनताका क.द्वारिकलाल चौधरीले वाचा गरेका थिए कि इटहरीको भ्रष्टाचार सबै निर्मुल पार्छु भनेर । तर यो निर्वाचनको मात्र कुरा हो, भोट जित्ने तिक्डम हो भनेर धेरैले भने । तर अहिले उनको गतिविधीले भने चौधरी आफूले गरेका वाचा पुरा गर्न लागेको स्पष्ट देखिन्छ ।

उनले पत्रकारलाई लोपारे । कर्मचारीलाई थर्काए । आफ्नै सहकर्मी नेताको भण्डाफोर गरे । खोलामा डोजर चलाए । ऐलानी जग्गा खोज्दा निजी विद्यालयमा भेटे पनि । कमरेडले केही चै गर्छन् भन्ने जनताले बुझे पनि ।

इटहरीको तेस्रो चर्चा द्वारिकलाल चौधरीको हो । उनी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै चर्चित भए । तर सुनियो पछि, माफी मागे रे । विज्ञप्ती निकाले रे । अब सबैसँग मिलेर काम गर्छन रे !

नेपाली, हिन्दी, सँस्कृत र अंग्रजी उखान भनेर राष्ट्रिय स्तरका टेलिभिजनमा अन्तर्वार्ता त दिए तर ‘पुनःमुसिको भवः’ भन्ने उखान पनि उनलाई जानकारी हुनुपर्छ ।

लङ्गडाको देशमा गएपछि खुट्टा खुम्च्याउनु पर्छ कमरेड । भ्रष्टाचारीको संलग्नता पारेपछि भ्रष्टाचार पनि गर्नु पर्छ कमरेड । अब के गर्ने त ? नत्र खाइलाग्दो केटो जेठाजु पर्यो ?