विदेशबाट आउने अपरिचित फोन नउठाउन दूरसञ्चार प्राधिकरणको आग्रह

Newslaya Home

विदेशबाट आउने अपरिचित फोन नउठाउन दूरसञ्चार प्राधिकरणको आग्रह

बिहीबार ०९, साउन २०७६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आउने अपरिचित नम्बरका फोनहरु नउठाउन आग्रह गरेको छ ।

विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न आग्रह गरेको हो ।

पछिल्लो समय टेलिफोन र मोबाइलमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यस्तो फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देखिने गरेका र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् । यसले प्रयोगकर्तालाई त्रसितसमेत बनाएको छ ।

विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्नका लागि गरिन्छ । प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ ।