गोपनीयता विवादमा फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

Newslaya Home

गोपनीयता विवादमा फेसबुकलाई हालसम्मकै ठूलो जरिवाना

बिहीबार ०९, साउन २०७६

बिबिसि । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ । फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ । उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन ।

एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो ।

उक्त जाँचमा ‘फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरियो । कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले भने, ‘विश्वभरका अर्बौ प्रयोगकर्तालाई पटक–पटक प्रतिबद्धता जनाएर पनि फेसबुकले उनीहरूको व्यक्तिगत विवरण कसरी साझा गर्ने भनेर नियन्त्रण गर्न सक्छ । फेसबुकले उपभोक्ताको छान्न पाउने हकलाई कम गरिदिएको छ ।’ उनले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्णरूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको बताए ।

बुधवार सार्वजनिक फेसबुकको वित्तिय विवरणले चाहिँ गोपनीयताबारेका चिन्ताहरूले ग्राहकहरूमा खासै प्रभाव नपारेको देखाएको छ । उसले यस वर्षको दोस्रो त्रैमासमा मासिक सक्रिय प्रयोगकर्ता ८ प्रतिशले बढेको जनाएको छ ।

विश्लेषकहरूको अनुमान विपरित यसको विज्ञापनबाट हुने आम्दानी २८ प्रतिशतले बढेको छ ।