पथरीशनिश्चरेको हरियाली सामुदायिक वन देशकै उत्कृष्ठ

Newslaya Home

पथरीशनिश्चरेको हरियाली सामुदायिक वन देशकै उत्कृष्ठ

मङ्गलबार ०७, साउन २०७६

मोरङ । पथरीशनिश्चरेको हरियाली सामुदायिक वन देशकै अब्बल भएको छ ।

सामुदायिक वन व्यवस्थापन र संरक्षण, पारदर्शिता, गरिबी निवारणलगायतका पक्षमा उत्कृष्ट काम गरेको ठहर गर्दै वन तथा वातावरण मन्त्रालयले सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७६ प्रदान गरेको हो ।

२०५६ सालमा हरियाली सामुदायिक वन उपभोक्ता समूह गठन गरी २ सय ४५ दशमलव ९४ हेक्टरको वन समुदायले संरक्षण सुरु गरेको हो । रूख बिरुवाविहीन र चरिचरणलाई समितिले संरक्षण गरी हराभरा बनाएपछि जिल्ला वन कार्यालय मोरङले २०७१ पुस १ गते समुदायमा हस्तान्तरण गरेको हो ।

पथरीशनिश्चरे नगरपालिकाको वडा २, ३ र ७ को १ हजार २८ घरधुरी उपभोक्ता रहेको उक्त वनमा २०७३ देखि वैज्ञानिक वन व्यवस्थापन प्रविधिबाट काठ उत्पादन सुरु गरेको छ ।

उक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले समुदायमा हस्तान्तरण भएदेखि वनमा अग्नी रेखा निर्माण गरी आगलागी हुन नदिएको र चरिचरणका लागि गाइबस्तु प्रवेश गर्न नदिएको बताएका छन् ।  

समितिले चालु वर्षमा ८० लाख आम्दानी गरेको छ । हरियाली सामुदायिक वन उपभोक्ता समितिले गरेको मिहिनेत र कामले मुलुकका २ हजारभन्दा बढी सामुदायिक वनलाई उछिनेर राष्ट्रिय पुरस्कार जित्न सफल भएको हो ।