इटहरीको माया घर र सेफ हाउसमा राखिएका दुई महिलाले एकै रात बच्चा जन्माए

Newslaya Home

इटहरीको माया घर र सेफ हाउसमा राखिएका दुई महिलाले एकै रात बच्चा जन्माए

आइतबार ०५, साउन २०७६

इटहरी । इटहरी र इनरुवाबाट उद्धार गरेर ल्याइएका दुई महिलाले गएराति बच्चा जन्माएका छन् ।

इटहरीस्थित माया घरमा आश्रय लिइरहेकी तारा राईले छोरी जन्माएकी छिन् ।

मानसिक रुपमा केही समस्या रहेकी उनलाई एक महिनाअघि मात्र इटहरी चोकबाट उद्धार गरेर लगिएको थियो । उनलाई मायाघर लगेर राखिएको थियो । विवाहीता अन्दाजी ४० वर्षकी राईको इलामस्थित घरमा ६ वर्षको छोरोसमेत छ ।

मायाघरको व्यवस्थापन समितिकी राधिका थापाकाअनुसार शनिबार राती धरानस्थित वीपी प्रतिष्ठान लगिएकी राईले बिहान छोरीलाई जन्म दिएकी हुन् ।

माया घरमा विभिन्न कारणले बेघरबार भएका महिलाहरुलाई आश्रय दिइने गरिन्छ । अहिले पनि डेढ महिनाकी बालिकादेखि ज्येष्ठ नागरिकसम्मले त्यहाँ आश्रय लिएका छन् ।

यस्तै इटहरी उपमहानगरले सञ्चालन गरेको सेफ हाउसमा आश्रय लिइरहेकी अर्की एक अविवाहित युवतीले पनि छोरी जन्माएकी छिन् ।

हप्ता दिन अघिदेखि आश्रय लिइरहेकी ती युवतीले इटहरी अस्पतालमा छोरी जन्माएकी हुन् । एक ब्यक्तिले विवाह गर्छु भनेर गर्भवति वनाइ वेपत्ता भएका युवकलाई खोज्दै संखुवासभादेखि तराई झरेकी युवतीलाई उद्धार गरिएको थियो ।

ती युवतीका आफन्तलाई खवर गरिसकिएको सेफहाउस इटहरीले जनाएको छ एक बर्ष देखि सञ्चालित सेफ हाउसवाट अहिले सम्म ७६ जना महिलाले सेवा लिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

अलपत्र परेका, हराएका, जोखिममा परेका, हिंसामा परेका महिलालाई सेफहाउसमा राखेर अल्पकालिन सेवा प्रदान गरिन्छ ।

सेफहाउसमा १५ दिन सम्म राख्ने ब्यवस्था छ । सो अवधिमा खानपिन, औषधी उपचार, काउन्सिलिङ प्रदान गरिन्छ । त्यसपछि आफन्त पत्ता लगाएर वुझाउने गरिएको छ । आफन्त पत्ता नलागेका चार जनालाई मंगला, शाहाना पूनस्र्थापना केन्द्र काठमाडौ पठाइएको छ ।