इनरुवा नगरपालिकामा बन्यो सहमती, अब नगरसभा हुने

Newslaya Home

इनरुवा नगरपालिकामा बन्यो सहमती, अब नगरसभा हुने

शनिबार ०४, साउन २०७६

इनरुवा । इनरुवा नगरपालिकामा नेकपाको बहिष्कारसँगै अन्यौलमा परेको नगरसभा दुई पक्षीय सहमतिपछि सुरु हुने भएको छ ।

नगर प्रमुख र नेकपाका जनप्रतिनिधिबीच नगरसभा सञ्चालनमा ल्याउने विषयमा सहमति बनेको छ ।

मेयरले आफूखुशी गर्दै आएको ठाडो तोक आदेशलाई बन्देज लगाउँदै १० हजार भन्दा बढीको हकमा कार्यपालिकाको निर्णय अनिवार्य गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा भएको भनिएको अनियमित खर्चलाई समेत कार्यपालिकाबाट अनुमोदन नगरिने भएको छ । नगरपालिकाबाट भए गरेको सम्पूर्ण खर्च विवरण भने सार्वजनिक गर्न मेयर मेहता सहमत बनेको बताइएको छ ।

वडागत बजेट वृद्धि, बहुवर्षीयका नाममा संचालित योजनालाई क्रमागत रुपमा अघि बढाउने, तोक आदेशको दायरा, कार्यपालिकाको निर्णय अनिवार्य, अनावश्यक रुपमा भर्ना गरिएका करारका कर्मचारी कटौती, उपप्रमुखको हकमा न्यायिक समितिलाई पर्याप्त रकम सहित आर्थिक अधिकार दिनुपर्ने जस्ता मुद्दामा नगर प्रमुख राजन मेहता लचिलो बनेपछि सहमति बनेको हो ।

असार १० का लागि नगरपालिकाले डाकेको नगरसभामा वडागत सिलिङ ३४ लाख तोकिएको थियो । अब प्रत्येक वडाले १ करोड ९७ लाख रकम पाउने छन् । जसमा ६० लाख रकम क्रमागत आयोजना अन्र्तगतको बजेटबाट समावेश हुने छ ।

सहमतीअनुसार पछिल्लो समय करारमा भर्ना गरिएकाहरुको म्याद थपिने छैन ।

नगर प्रमुख र नेकपाका जनप्रतिनिधिबीच भएको ९ बुँदे सहमति पालना गर्दै दुवैपक्ष अघि बढ्ने निर्णयमा पुगेकाले कार्यपालिकाको बैठक बसी सबै विषयको टुङगो लगाउँदै नगरसभाको मिति तय गर्ने इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।