बन्द गराउँदै हिडेका प्रदर्शनकारी इटहरीबाट पक्राउ, लोकसेवाको परीक्षालाई प्रभाव परेन

Newslaya Home

बन्द गराउँदै हिडेका प्रदर्शनकारी इटहरीबाट पक्राउ, लोकसेवाको परीक्षालाई प्रभाव परेन

शनिबार ०४, साउन २०७६

इटहरी । लोक सेवा आयोगविरुद्ध बन्द गराउँदै हिडेका नेपाल आदिवासी जनजाति महासंघका कार्यकर्तालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।

बन्दको आह्वान गर्दै इटहरी चोकमा एकत्रित बनेका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसै पनि प्रभावहीन देखिएको बन्द प्रदर्शनकारी पक्राउ परेसँगै थप प्रभावहीन बनेको छ ।

महासंघको प्रदेश १ समितिले प्रदेशभर शनिबार बन्दको आह्वान गरेको थियो । इटहरीलाई केन्द्र बनाएर यातायात तथा बजारलगायत बन्द आह्वान गरेको थियो ।

शनिबार धनकुटामा लोकसेवा आयोगको परीक्षालाई प्रभावित पार्न बन्दको आह्वान गरिएको थियो । तर आन्दोलन र विरोधले परीक्षालाई भने असर गरेको छैन ।

लोकसेवा आयोगको विज्ञापनमा आरक्षण हटाइएको भन्दै महासंघ केही समयदेखि देशव्यापी आन्दोलनमा छ ।