भारतबाट पाइपमा आयो डिजेल, पाइपको प्रयोगले वार्षिक २ अर्ब बचत

Newslaya Home

भारतबाट पाइपमा आयो डिजेल, पाइपको प्रयोगले वार्षिक २ अर्ब बचत

शनिबार ०४, साउन २०७६

अमलेखगन्ज । नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक डिजेल ल्याइएको छ । २ सय ५९ किलोमिटर पाइपलाइनबाट इन्धन भित्र्याउन गरिएको परीक्षण शुक्रबार सफल भएको हो ।

शुक्रबार बिहान ६ बजे पाइपबाट डिजेल अमलेखगन्जसम्म ल्याइएको हो ।नेपाल आयल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवका अनुसार बुधबार साँझ ६ बजे हावा, राति २ः३० मा पानी पठाएर जाँच गरिसकेपछि शुक्रबार बिहान ६ बजे डिजेल ल्याइएको हो ।

नेपालले पहिलो चरणमा इन्डियन आयल कर्पोरेसनबाट ३१ लाख लिटर डिजेल ल्याएको छ । त्यसमध्ये १० लाख लिटर ट्यांकरमा र २१ लाख लिटर डिजेल पाइपमा छ ।

तत्काललाई पेट्रोल, मट्टितेल र हवाई इन्धन भने ट्यांकरबाटै ढुवानी हुनेछ ।

मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइन विस्तारको काम गरिए भए पनि त्यहाँ पम्प स्टेसन नबनाएसम्म पटनाबाट डिजेल ल्याइने छ । मोतिहारी–पटनाको दूरी १ सय ९० किलोमिटर छ ।

भारत सरकारको सहयोगमा करिब १६ महिनाअघि मोतिहारी–अमलेखगन्ज पाइपलाइन विस्तार सुरु गरिएको थियो ।

पाइपलाइन विस्तारसँगै नेपाल आयल निगमले अब वार्षिक २ अर्ब रकम बचत गर्ने अनुमान गरिएको छ । इन्धन ढुवानीमा देखिएका झन्झट अन्त्य हुने र ढुवानीका क्रममा हुँदै आएको चुहावट नियन्त्रण हुने आयोजना प्रमुख यादवले बताए ।