कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

Newslaya Home

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

बिहीबार ०२, साउन २०७६

काठमाडौं । नेपाल–भारत सीमामा पर्ने कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने भएको छ । पूर्वपश्चिम राजमार्गको सप्तरी र सुनसरी जिल्लालाई जोड्ने ब्यारेजको आयु सकिएकाले नेपाल सरकारले वैकल्पिक पुलको निर्माणको तयारी अघि बढाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने सप्तरीको कञ्चनरूप नगरपालिकाको कञ्चनपुरबाट पूर्वतर्फ लाग्ने हालको सडक हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ नयाँ सडक निर्माण गरिने भएको छ । त्यसपछि आरक्षको पूर्वीछेउ हुँदै आरक्षको उत्तरी सीमाबाट सप्तकोशी पार गर्ने तीन किलोमीटर लामो पुल निर्माण गर्ने योजना छ ।

उक्त सडक र पुललाई पूर्वपश्चिम राजमार्गमा जोड्न पुलबाट सोझै पूर्व लागेर सुनसरी पकली नजीकको कान्छीचोकमा सडक निकाल्ने योजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।

उक्त आयोजना निर्माणका लागि हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको क्रममा रहेको मन्त्रालयले जनाएको छ । राजमार्ग निर्माणको सरकारी नीतिअनुरूप उक्त सडक पनि चार लेनकै बनाइने भएको छ ।

तीन किमी पुलसहितको करीब ४४ किमीको उक्त सडक निर्माणका लागि करीब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको सडक विभागको एशियाली विकास बैंक अन्तर्गतका आयोजना हेर्ने निर्देशनालयका प्रमुख दीपक श्रेष्ठले बताए ।