६० लाख मानिस बाढीको खतरामा

Newslaya Home

६० लाख मानिस बाढीको खतरामा

बिहीबार ०२, साउन २०७६

काठमाडौं । दक्षिणी एसियाका करिब साठी लाख मानिस बाढीको खतरामा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित भइरहेका र ६० लाख नागरिकलाई खतरा रहेको बताइएको हो ।

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ ।

बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । यी देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने ‘बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ ।’ उनले बाढीका कारण ज्यान गुमाउने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएका छन् ।

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७ सय ५० गाउँ नै बगाएको छ । त्यसैगरी, नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति पुर्‍याएको छ । यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ ।

बङ्गलादेशमा पनि बाढीले ठूलो असर पुर्‍याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ ।