नेपालले धेर भएको विजुली भारत पठायो

Newslaya Home

नेपालले धेर भएको विजुली भारत पठायो

मङ्गलबार ३१, असार २०७६

काठमाडौँ । नेपालले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ।

उत्पादित विद्युत् खेर नजाओस् र दुई देशबीच आगामी दिनमा समेत विद्युत् व्यापार गर्ने मार्ग प्रशस्त होओस् भन्ने लक्ष्यका साथ यस्तो प्रकारको अभ्यास गरेको पत्रकार सम्मेलन मार्फत उर्जा मन्त्री वर्षमान पुनले बताएका छन् ।

यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको ऊर्जा मन्त्री पुनले बताए । उनले आज गएराति (असार ३० गते) मात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको बताएका छन् । छ ।

अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ मा विद्युत् माग घट्न गएकाले बढी भएको विद्युत् भारत पठाइएको हो । देशभर हाल एक हजार २१५ मेगावाट विद्युत् माग रहेको छ । बाढी र वर्षाले विद्युत् माग घटेर ६०० मेगावाटको हाराहारीमा सीमित हुन पुगेको छ । सोमबार मात्रै विद्युत् माग बढेर एक हजार १२५ मेगावाटको हाराहारीमा पुगेको थियो।

मन्त्री पुनका अनुसार रक्सोल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइन र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् भारत पठाइएको हो । यस्तै अन्य सात विन्दुबाट पनि यता बढी भएको विद्युत् भारत गएका हुन् । ती प्रसारण लाइनमार्फत विद्युत् आयात तथा निर्यात दुवै गर्न सकिन्छ।

मन्त्रालयका अनुसार हाल देशभर कूल जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ। नदीमा जलसतह बढेका कारण प्राधिकरण र निजी क्षेत्रका आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेका छन्।