मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङ र झापा भिड्दै

Newslaya Home

मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङ र झापा भिड्दै

मङ्गलबार ३१, असार २०७६

धरान । मंगलबार(आज) हुने मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लब भिड्ने भएका छन् ।

धरान १६ स्थित रंगशालामा आज दिउँसो साढे ३ बजे झापा र मोरङबीच फाइनल खेल शुरु हुनेछ । राष्ट्रिय लिग खेल्ने ढोका रहेको प्रेसिडेन्ट कपमा प्रदेश १ बाट २ टोली समावेश गर्ने एन्फा र प्रदेश सरकारबीच भएको सम्झौतामा उल्लेख छ ।

समुह ए बाट विजेता बनेर फाइनल पुगेको मोरङले बौद्धिक विकास समाज समिति धनकुटा र धरान फुटबल क्लब सुनसरीलाई पराजित गरेको थियो । मोरङले धनकुटालाई ६–१ र धरानलाई २–१ ले पराजित गरेको थियो ।

लिग च्याम्पियनले ४ केजी चाँदीको रनिङ ट्रफि र नगद ५ लाख पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । यस्तै, फाइनल चरण खेल्ने अन्य ४ टिमलाई पनि ७५ हजारको दरले नगद पुरस्कार दिइने आयोजक एन्फाले जनाएको छ ।

व्यक्तिगत पुरस्कारतर्फ लिगका सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने एन्फाले जनाएको छ । यस्तै, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट फरवर्ड, उत्कृष्ट कोचलाई जनही नगद २५ हजार दिइनेछ भने फाइनल खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ ।