जोगबनी नाकाबाट आयातमा अवरोध, विराटनगर भन्सार ठप्प

Newslaya Home

जोगबनी नाकाबाट आयातमा अवरोध, विराटनगर भन्सार ठप्प

मङ्गलबार ३१, असार २०७६

विराटनगर । बाढीका कारण मिरगञ्ज पुल कमजोर भएको भन्दै भारतले जोगबनी नाकाबाट नेपालतर्फ हुने आयातमा अवरोध गरेको छ । जोगबनीबाट गत शनिबारदेखि मालबहाक सवारीसाधन नेपाल भित्रन पाएका छैनन् ।

जोगबनी नाकाबाट हुने आयातमा यो पुलको विकल्प छैन । निरन्तरको वर्षासँगैको बाढीले पुललाई ठूलो असर गरेको भन्दै भारतीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि मिरगञ्ज पुलबाट नेपालतर्फ आउने सवारीसाधन प्रवेशमा रोक लगाएको हो ।

मालबहाक सवारीसाधन आवतजावत हुन नसक्दा विराटनगर भन्सार ठप्प छ । मिरगञ्ज पुल कटिसकेका र भारतीय आईसीपीमा रहेका एक–दुईवटा मालबहाक सवारीसाधन मात्रै नेपाल प्रवेश गरिरहेको विराटनगर भन्सारका अधिकृत एवं सूचना अधिकारी मनिराम पौडेलले जानकार दिए ।

बढी भार भएका गाडीका कारण बाढीले कमजोर बनेको पुलमा क्षति पुग्न सक्ने दाबी भारतीय पक्षको रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भारतले पुलमा पूर्णरूपमा रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट हुने आयात र नेपालबाट हुने निर्यात प्रभावित बनेको पौडेलले जानकारी दिए ।

भारतीय अवरोधका कारण खाली गाडीसमेत पठाउन नपाइएको पौडेलले बताए । नेपाल र भारत सरकारको प्राथमिकतामा यो पुल नपर्दा सधैं दुःख र कष्ट भोग्न उद्योगी व्यवसायी बाध्य हुनु परेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । अनेकन बहानामा भारतले अवरोध गरिरहने भएका कारण मिरगञ्ज पुलको विकल्प तत्काल खोजिनुपर्ने राउतले बताए ।

यसको विकल्पका रूपमा सुनसरीको भण्टाबारी नाका प्रयोग गर्नुपर्ने अवस्था भयो भने ठूलो समस्या बेहोर्नु पर्ने र ढुवानी भाडा पनि महँगो पर्ने राउतले बताए । २०७४ सालको भीषण बाढीले क्षति पुगेको सो पुलबाट पछिल्लो समय ४० मेट्रिक टनसम्मका सवारीसाधन मात्रै भित्रन दिने गरिएको थियो । त्यसभन्दा बढी तौलसहित मालसमानको सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्रने गरेका थिए ।

भारतबाट जोगवनी नाका हुँदै दैनिक तीन सय ५० बढी मालवहाक सवारीसाधन नेपाल भित्रिने गरेका छन् । यसबाट दैनिक करिब १५ करोड रुपैयाँ बढी राजस्व संकलन हुने गरेको भन्सारले जनाएको छ ।