आज गुरुपूर्णिमा, गुरुलाई सम्मान गर्ने दिन !

Newslaya Home

आज गुरुपूर्णिमा, गुरुलाई सम्मान गर्ने दिन !

मङ्गलबार ३१, असार २०७६

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा ज्ञान दिने गुरुको सम्मान गर्ने दिन । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।

जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा । आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ । मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ । व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ ।

सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ । गुरुलाई माता र पितापछिको स्थान दिइएको छ । ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन् भन्ने सनातन धर्मको मान्यता छ । गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ ।