भ्यागुताको आरोप, 'मानिसहरु भाइरल हुन हाम्रो बिहे गराउँछन्'

Newslaya Home

भ्यागुताको आरोप, 'मानिसहरु भाइरल हुन हाम्रो बिहे गराउँछन्'

सोमबार ३०, असार २०७६

आफूहरुलाई जबरजस्ती सम्बन्ध विच्छेद गराइएको भन्दै भ्यागुताको जोडीले आपत्ती प्रकट गरेकोछ । उसले भ्यागुताधिकार आयोग र अदालत जाने चेतावनी दिएको छ ।

एक वर्षअघि मात्रै विवाह भएको आफ्नो सुन्दर जोडीमा मानिसको गिद्धे आँखा लागेको भ्यागुताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । भाले भ्यागुताले आफूहरु केही समयमै अदालत गएर फेरी विवाह गर्ने जनाएको छ ।

‘हामीलाई जुन तरिकाले सम्बन्ध विच्छेद गराइयो, त्यसमा हाम्रो आपत्ती छ,’ भाले भ्यागुताले भने, ‘यो हाम्रो अधिकारलाई कुण्ठित गर्ने काम भएको छ ।’ उनले केही दिनअघि विवाह गराइएको जोडी आफू नभएको जानकारी दिए ।

साउनको समयमा सँगै जोडी बाँधेर ट्वारट्वार गर्न नपाएकोमा पोथी भ्यागुतीले आक्रोश पोखीन् । ‘हाम्रो खुसी मानिसले देखि सहेनन्,’ उनले भनिन्, ‘सँगैको जोडी छुट्यो, साउनमा अब को सँग खेतमा गएर ट्वारट्वार गर्नु ?’

सम्बन्ध विच्छेदपछि आफ्नो पेटमा रहेको दुई महिनाको बच्चाको लालन पालनमा समेत गम्भीर प्रश्न उठेको उनले गुनासो गरिन् । ‘मानिसको स्वार्थको लागि हाम्रो खुसी खोसियो,’ उनले रुँदै भनिन् ।

उनले आफूहरु पानीमा रमाउने प्राणी भएकोले सधैं वर्षाको पक्षमा रहने बताइन् । ‘विवाह गराइरहन जरुरी छैन, मानिसहरु आफू भाइरल हुन हाम्रो बिहे गराउँछन्,’ उनले भनिन् ।

भाले भ्यागुतोले भने मानिसहरु आफ्नो गल्ती ढाकछोप गर्न अनेक फण्डा गर्न लागिपरेको बताए । उनले पानी नपर्नुको कारण स्वयं मानिसहरु भएको बताए । ‘मानिसले रुख काटे, वन विनाश गरे, प्रकृती रिसाएर पानी पार्न छाड्यो,’ उनले भने, ‘पानी परेपनि एकैपटक पर्ने, असमान तरिकाले पर्ने र पर्नुपर्ने समयमा नपरी अन्य समयमा पर्ने गर्न थाल्यो ।’

उनका अनुसार रुख रोपेर वन जंगल संरक्षण गरे समयमा पानी पर्नेछ । नेपालबाहिरबाट आउने वायुले पानी पार्ने भएकोले नेपालमा बिहे गरेर केही नहुने उनले बताए । ‘हाम्रो बिहे गराउने होइन, बरु रुख विरुवा रोप्न तिर ध्यान दिनुस्,’ उनले भने, ‘पानीको मुल फुट्छ, वातावरण सन्तुलन हुन्छ ।’

(पानी नपरेको भन्दै भ्यागुताको बिहे गराउने र पानी धेरै पर्यो भन्दै भ्यागुताको सम्बन्ध विच्छेद गराइ चर्चा खोज्नेहरुको विषयमा यो व्यंग्यात्मक सामाग्री हो । कसैले पनि साँचो नसम्झिनुहोला । –सं.)