बीपीमा यसरी पस्यो अख्तियार : पूर्व उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Newslaya Home

बीपीमा यसरी पस्यो अख्तियार : पूर्व उपकुलपति दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार ३०, असार २०७६

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारीको लागि सुनको अण्डा पार्ने अखडा मानिन्छ । विगतमा प्रतिष्ठानका पदाधिकारीहरुले भ्रष्टाचार गरेका विषयमा समाचार र चर्चा परिचर्चा बाहिर सतहमा आएका थिए ।

तर अख्तियारले केही गर्न सकेको थिएन । उल्टै बीपीका पदाधिकारीको फाइल खोल्ने अख्तियारका हाकिम सरुवामा परेका थिए ।

तर अहिले भने अख्तियार खुलेरै प्रतिष्ठानको भ्रष्टाचारविरुद्ध लागिपरेको छ । केही दिनअभि उपकुलपती राजकुमार रौनियारलाई रंगेहात समातेको अख्तियारले पुर्व उपकुलपती बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले उपकुलपति रौनियारलाई ८ लाख रुपैया घुस सहित पक्राउ गरे पछि विशेष अदालतमा उपकुलपति देखि अन्य नेतृत्व तहका कर्मचारीहरु बाट पनि अनियमितता भएको देखिएको भन्दै पुर्व उपकुलपति सहित ८ जना लाई १४ करोड ४६ लाख १३ हजार ९ सय २८ रुपैयाको बिगो सहित आरोपपत्र दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विभिन्न मितिमा वस्तु तथा सेवा खरीदबारे छानबिन तथा अनुसन्धानबाट विभिन्न उपकरण (वस्तु) तथा सेवा खरीदमा भ्रष्टचार गरेको दाबीसहित बिशेष अदालतमा आरोप पत्र दायर गरेको हो । प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत वदनियतपुर्वक गैरकानुनीरुपमा आर्थिक लाभ लिएर सप्लायर्स तथा आफुलाई फाइदा पुर्याएको र प्रतिष्ठानलाई हानी नोक्सानी गरेको अख्तियारको दाबी छ ।

अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकुलपति डा।बलभद्र प्रसाद दास (विपि दास), तत्कालीन अस्पतालका निर्देशक डा।अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठ विरुद्ध भ्रष्टचार मुद्दामा आरोप पत्र दायर गरेको हो । यी ४ पदाधिकारी मध्ये तुलबहादुर श्रेष्ठ हाल पदसिन छन् । यस्तै, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव विरुद्ध पनि अख्तियारले आरोप पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कुमार कोईरालाले प्रेस विज्ञप्ती जारी गर्दै प्रतिष्ठानका पुर्वउपकुलपति प्रा।डा। बलभद्र प्रसाद दास ४ करोड ८ लाख ९० हजार १९ रुपैया ७१ पैसा, तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैया ७१ पैसा, तत्कालीन रजिष्टार नन्दकुमार थापाले १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैया, र रजिष्टार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार ४ सय ५ रुपैया अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको जनाएको छ ।

आयोगका अनुसार ऐ। ऐनको दफा ८ को उपदफा (ज्ञ) बमोजिम कैद र जरिवाना गरी ऐ।को दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउनका साथै निज प्रतिवादीहरूको हकमा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकोले सो दफा २४ अनुसार थप सजाय समेतको माग दावी लिइएको छ ।

त्यसै गरि प्रतिष्ठानका लेखा प्रमुख दिनेश राज दाहालले २ करोड ३४ लाख ८१ ह्जार ८ सय १९ रुपैया ७१ पैसा र डेपुटी मेनेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख १६ हजार २ सय रुपैया अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरेको आरोप लगाएको छ । दाहाल र श्रीवास्तवलाई पनि ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी ऐ।ऐनको दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउन समेतको माग दावी लिइएको छ ।

उपकरण सप्लायर्समा मिलेमतो गर्दै भष्ट्राचारमा संलग्न सप्लायर्स कम्पनी प्रोसिजन मेडिकल प्रा.लि.र वायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवाललाई पनि कारवाहीका लागि माग दाबी गरेको छ ।

प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी खरिद संझौता गरी भुक्तानी लिई चेतन अग्रवालले १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैया र उमेश अग्रवालले ६० लाख ३६ हजार ३ सय ४३ रुपैया हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरेको आयोगले ठहर गरेको छ ।

दुवैलाई ऐ ऐनको सोही दफा ८ को उपदफा (४) बमोजिम जरिवाना तथा सजाय गरी निजहरूले हिनामिना गरेको विगो समेत असुल गरी पाउन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।