म्याट धुप बाल्दा किन भाग्छन् लामखुट्टे ? यस्तो छ कारण

Newslaya Home

म्याट धुप बाल्दा किन भाग्छन् लामखुट्टे ? यस्तो छ कारण

सोमबार ३०, असार २०७६

गर्मी महिना लागेसँगै लामखुट्टेले अत्यन्तै सताउन थाल्छ । रातभरि टोकेर सुत्नै दिदैन । यस्तो अवस्थामा हामी लामखुट्टे भगाउन बजारमा पाइने विभिन्न प्रकारका धुप र म्याटहरु बाल्ने गर्छौँ । म्याट धुप बालेपछि लामखुट्टे भग्छ र हामी आरामपूर्वक सुत्न सक्छौं ।

तर तपाईहरुलाई अचम्म लाग्न सक्छ कि धुप बाल्दा लामखुट्टे कसरी र किन भाग्छ ? आउनुस् जानौँ धुप बाल्दा किन भाग्छ त लामखुट्टे ?

लामखुट्टे भगाउने धुप वा म्याटमा ४ प्रतिशत ऐलेथ्रिन नामक रसायन हुन्छ । म्याट बनाउँदा कार्डबोर्डको टुक्रालाई ऐलेथ्रिनको घोलमा डुबाएर सुकाइन्छ । त्यो म्याट निश्चित ताप दिने बिजुलीको ग्लोव वा हिटरमा राखे पछि ऐलेथ्रिनको धूँवा निस्कना थालछ । त्यो धूँवा कोठाको हावामा घुलिन्छ र त्यसको प्रभावले लामखुट्टे मर्छ वा अशक्त बन्छ ।

तर त्यो ऐलेथ्रिनको धूँवाले स्तनधारी प्रणीमा भने कुनै हानिकारक प्रभाव पर्दैन । वैज्ञानिकहरुका अनुसार एउटा वयस्क मान्छेलाई ऐलेथ्रिनको ९० ग्राम मात्रा कुनै माध्यमबाट दियो भने मात्र त्यो घातक र हानिकारक हुन्छ । तर लामखुट्टेको लागि भने ऐलेथ्रिनको एक ग्रामको १० लाख भाग नै पनि घातक हुन्छ । एउटा म्याट वा धूपमा करीब ४० मिलिग्राम एलेथ्रिन हुन्छ ।

त्यस्तै, कुनैकुनै धूपमा पाइरेथ्रिन नामक रसायन पनि उपयोग गरिन्छ । पाइरेथ्रिनले पनि ऐलेथ्रिनले जस्तै काम गर्छ । भारतबाट आउने कछुवा छाप अगरबत्तीमा पाइरेथ्रिन हुन्छ ।

कुनै कुनै धूपमा चाहिं डाई मिथाइला थैलेट (डि.पि.एम) प्रयोग गरिएको हुन्छ । यो तिखो गन्धवाला कागतीको रसबाट बनाइएको हुन्छ । यसको गन्ध लामखुट्टेले खप्न सक्दैन र भाग्छ । उदाहरणको लागि, भारतबाटै आउने आडोमस म्याटमा यो हुन्छ ।

रसायनहरुको प्रयोगैबिना पनि लामखुट्टे भगाउन सकिने कुरा बैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनीहरुका अनुसार, २२ किलोहर्जदेखि लिएर २७ किलोहर्ज आवृतिको अल्ट्रासोनिक ध्वनि (मान्छेको कानले सुन्न नसक्ने आवाज)ले पोथी लामखुट्टेलाई भगाउन सकिन्छ । लामखुट्टे भगाउन यस्तो ध्वनि निकाल्ने यन्त्र पनि बनाइएको छ ।

लामखुट्टेलाई भगाउने अर्को उपाय हो परावैजनी प्रकासको उपयोग । मान्छेले परावैजनी प्रकास देख्न सक्दैन तर लामखुट्टे र अन्य किराहरुले यो प्रकास देख्न सक्छ र उनीहरु यसप्रति अत्यन्तै आकर्षित पनि हुन्छन् । यसमा विजुलीको माध्यमबाट परावैजनी प्रकास उत्पन्न गरिन्छ र त्यसैमा राखिएको पाता वा रडमा विजुलीको करेन्ट समेत जोडिन्छ । फलतः परावैजनी प्रकाशले आकर्षित लामखुट्टे बिजुलीको झट्काले मर्छ । तर यो तरिका अलि खतरापूर्ण छ । सावधानी अपनाएन भने र लापरवाही गरियो भने यसले मान्छेलाई नै करेन्ट लाग्न सक्ने संभावना धेरै हुन्छ ।