भारतमा पनि बाढी, सात जनाको मृत्यु

Newslaya Home

भारतमा पनि बाढी, सात जनाको मृत्यु

सोमबार ३०, असार २०७६

नयाँदिल्‍ली । भारतका असम, बिहार, हिमाचल, उत्तर प्रदेश, महाराष्‍ट्र समेत कैयौं राज्यमा भीषण बाढी आएको छ ।

असमको आधाभन्दा बढी भूभागमा ब्रह्मपुत्र र उसका सहायक नदी गाउँबस्तीमा पसेका छन् । जसका कारण सात जनाको मृत्यु भएको छ भने सयौं व्यक्ति हराएका छन् । बाढीका कारण ४ लाख २३ हजार व्यक्ति घर छोडेर सुरक्षित स्थानमा गएका छन् । असमको लुमडिङ–बदरपुर पर्वतीय खण्डमा रेल सेवा बन्द भएको छ ।

बिहारमा पनि अत्यधिक वर्षाका कारण जनजीवन त्रसीत हुँदै गएको छ । नेपाल र विहारको उत्तरी भागमा लगातार भएको वर्षाले शिवहर, सीतामढी, पूर्वी चम्पारण, मधुबनी, अररिया र किशनगञ्ज जिल्ला पूरै डुबानमा परेका छन् । बाढीले रेलसेवा बन्द भएको छ भने कोशीमा पानीको स्तर बढ्दै गएको छ । भारतीय मौसम विभागले थप वर्षा हुने जानकारी दिएको छ । उत्तर प्रदेशका कैयौं जिल्ला बाढीले जलाम्मे भएका छन् ।

बहराइच जिल्लाका २४ गाउँ डुबानमा परेको छ । बाराबंकी क्षेत्रमा घाघरा नदीले खतराको स्तर पार गरेको छ । श्रावस्तीमा राप्ती नदीले पनि खतराको स्तर पार गरेको छ ।