कनकाई नदीको बाँध फुट्दा ३२ घरपरिवार विस्थापित

Newslaya Home

कनकाई नदीको बाँध फुट्दा ३२ घरपरिवार विस्थापित

आइतबार २९, असार २०७६

भद्रपुर । अविरल वर्षाका कारण झापाको कनकाई, मेची, विरीङ, मावा, कमल, निन्दा, देउनियालगायत नदीमा पानीको बहाव बढेको छ।

शनिबार राति कनकाईमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दै बाँधसमेत फुटाएको छ। बाँध फुटाउँदा गौरीगञ्जका करिब ३२ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

गौरीगन्ज गाउँपालिका– १ होकलबाडीका ३२ घरपरिवार बाढीका कारण विस्थापित भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

विस्थापित भएका घरपरिवारलाई इन्द्रेणी प्रावि गौरीगञ्जमा राखिएको प्रहरी कार्यालय झापा प्रहरीले जनाएको छ ।

त्यसैगरी अविरल वर्षाले घर भत्किँदा झापामा बुबा छोरा घाइते भएका छन्। प्रहरीका अनुसार वर्षाले फुस र टाटीको बेरा भएको एक तले घर भत्किएकोले बुबा छोरा घाइते भएका हुन्। दुवै जनाको स्थानीय प्रहरी चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।