बिहार डुबेको भन्दै ब्यारेजका ढोका बन्द गर्न भारतको दवाव, बन्द गरे झन् खतरा

Newslaya Home

बिहार डुबेको भन्दै ब्यारेजका ढोका बन्द गर्न भारतको दवाव, बन्द गरे झन् खतरा

शनिबार २८, असार २०७६

सुनसरी । सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजको ३६ ढोका खोलिएका छन् । शनिबार दिउँसो २ बजेको मापनअनुसार ब्यारेजमा दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको छ ।

बहावअनुसार ढोका नखोले ब्यारेजमा पानीको दबाब बढी भएर बाँध तथा ब्यारेज नै भत्केर बाढी आउन सक्छ ।

तर यता भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको नेपाली सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् ।

तर ब्यारेजको ढोका बन्द गर्दा अत्याधिक दबाब भएर पानी ओभरफ्लो भएमा त्यसले नेपाल र भारत दुवैतर्फ झन् ठूलो क्षती गर्ने सम्भावनासमेत छ ।

ब्यारेजको ढोकाको कन्ट्रोल भारतको हातमा छ । ब्यारेजको ढोका बन्द वा खुला गर्ने भन्ने भारतले निर्णय गर्ने र सोअनुसार काम गर्ने गर्छ ।

नेपाल पक्षले ब्यारेजका बढी ढोका खोल्न दबाब दिन्छन् भने भारतले भने कम ढोका खोल्न चाहन्छन् ।

तर त्यस्तो कुनै दबाबका कुराहरु अहिलेसम्म आफूले नसुनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । ‘त्यस्तो केही कुराहरु सुनेको छैन,’ उनले भने ।

यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।