विद्युतको दुहबी ग्रीडमा पानी जम्यो, लगातार वर्षा भइरहे विद्युत प्रशारण रोकिने

Newslaya Home

विद्युतको दुहबी ग्रीडमा पानी जम्यो, लगातार वर्षा भइरहे विद्युत प्रशारण रोकिने

शनिबार २८, असार २०७६

दुहबी । लगातारको वर्षाको कारण नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीडमा पानी जमेको छ ।

नेपाल विद्युत प्रधिकरण दुहबी ग्रीडका अनुसार प्राधिकरणको १३२–३३ केभी दुहबी ग्रीड सब स्टेसन डुबानमा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण पानीको सतह बढेपछि सबस्टेसन जलमग्न भएको हो ।

सबस्टेसनमा पानी पुगेपनि सञ्चालनमा कुनै समस्या नरहेको तर पानी पर्ने क्रम नरोकिएकाले सेवा अवरुद्ध हुन सक्ने प्राधिकरण दुहबी ग्रीड शाखाका उज्वल नेपालले जानकारी दिए ।

सब स्टेसनको नियन्त्रण कक्षमा पानी नपसेकाले अहिलेसम्म विद्युत् प्रशारण रोकिएको भने छैन । पानीको सतह निरन्तर बढिरहेको र एक दुई दिन अझै नियमित वर्षा भइरहे सबस्टेसन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

सबस्टेशन बन्द हुँदा मेची कोशीका सबै जिल्लामा विद्युत अवरुद्ध हुने दुहबी ग्रीड शाखाका नेपालले बताए ।

पूर्वमा टेलिफोनमा समस्या

बाढीका कारण अप्टिकल फाइबर बगेकाले पूर्वमा शनिबार बिहानैदेखि नेपाल टेलिकमका सेवाहरूमा समस्या आएको छ । टेलिकम सेवाअन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको हो । अप्टिकल फाइबरको काम भएकाले समय लाग्ने भएपनि वैकल्पिक उपायका लागि प्रयास भइरहेको बताइएको छ ।