डाक्टरले मृत घोषित गरेका युवा जिउँदै भएपछि......

Newslaya Home

डाक्टरले मृत घोषित गरेका युवा जिउँदै भएपछि......

बिहीबार १९, असार २०७६

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा सोमबार एक निजी अस्पतालका डाक्टरहरुले मृत घोषित गरेका एक युवा जिउँदै रहेको पाइएको छ ।

डाक्टरहरुले मृत घोषित गरेपछि २० वर्षका मोहम्मद फुरकानलाई परिवारका सदस्यहरुले अन्तिम संस्कारका लागि लगेका थिए । दाहसंस्कारको तयारी गरिरहेको समयमा उनको जिउ चलेको देखिएको थियो । लगत्तै परिवारका सदस्यहरु युवकलाई लिएर अस्पताल पुगेका थिए जहाँ अस्पतालले उनलाई जिवितै रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मोहम्मद फुरकान जुन २१ मा एक दुर्घटनामा परेर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।

फुरकानका दाजु मोहम्मद इरफानले यो घटना अप्रत्यासित भएको र परिवारलाई विश्वासै नलागेको बताए । इरफानले भने,‘फुरकानलाई उपचारका लागि एक नीजि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका लागि अस्पताललाई सात लाख रुपैयाँ बुझाइसेका थियौँ । जब हामीले आफूहरुसँग पैसा नभएको बतायौँ उनीहरुले सोमबार फुरकानलाई मृत घोषणा गरे ।’ हाल भाइ फुरकानलाई राम मनोहर लोहिया अस्पतालमा उपचार गाइरहेको दाजु इरफानले जानकारी दिए ।

फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘फुरकानको अवस्था गम्भिर छ । तर यो ब्रेन डेथ नभएको निश्चित छ । उनको नाडी, ब्लड प्रेसर र मस्तिष्कले काम गरिरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ ।’