व्यवशायको धर्म भूलेर पार्टीको चरित्र अंगाल्नु भयो कि ?

Newslaya Home

व्यवशायको धर्म भूलेर पार्टीको चरित्र अंगाल्नु भयो कि ?

- भूमिका पाख्रिन
शुक्रबार १३, असार २०७६

पूर्वको प्रमुख सहर इटहरी यति बेला चुनाबमय बनेको छ । तापक्रम जति बढ्दैछ, त्यो भन्दा बढि चुनाबी चटारोले माहोल गर्माएको छ भन्दा अतियुक्ती नहोला ।

उम्मेदवारहरु भोट माग्न जति व्यस्त छन् त्यो भन्दा बढी सामाजिक सञ्जालमा पक्ष र विपक्षबीच देखिएको भाषिक/शाब्दिक द्वन्द्वले चुनाबी माहोल कस्तो छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।

यहि असार १४ गते हुने उद्योग वाणिज्य संघका हालका वरीष्ठ उपाध्यक्ष शैलेश विष्ट र कार्यसमिति सदस्य भीम पौडेल चुनाबी मैदानमा छन् । यद्यपी चुनाबी रौनक हेर्दा लाग्छ, यो उद्योग वाणिज्य संघ इटहरीको नभई प्रतिनिधि सभाको चुनाबी माहोल हो ।

व्यवसायीको चुनाब भनिएता पनि दुई पार्टी बीचको चुनाब जस्तो देखिएको छ । अथवा भनौ, चुनाब एउटा पदको लागी मात्र नभई दुई राजनीतिक दलबीचको प्रतिष्ठाको लडाइ बनेको देखिन्छ ।

त्यसो त चुनाबी माहोल तातिएसँगै व्यवसाय दर्ता गर्नेको संख्या ह्वात्तै बढ्नुले पनि इटहरीमा चुनाबी सरगर्मी कति बढेको छ त्यो सहजै अनुमान लगाउन सकिन्छ । मनोनयन दर्ता गराउने देखि भोट माग्ने तरीका साथै विज्ञापन गर्ने भड्किलो शैलीले पनि चुनाब महङ्गो बनेको छ ।

आम व्यवशायीको सेवा गर्न जाने बेतलबी पद पाउनको लागि करोडौँ खर्च गर्ने परिपाटीले हाम्रो समाज कता जाँदैछ ? सोचनीय छ । एउटा संघ, संस्था वा कुनैपनि तहको नेतृत्वमा आउन पार्टीगत खोल ओढ्नै पर्ने परिपाटीले समाजमा अझ खाडल सिर्जना गरेको स्पष्ट हुन्छ ।

आफू निकट पार्टीको भए उनका हरेक एजेण्डा सही, आफू विपरित भए उनका हरेक गतिविधिलाई बेठिक भन्ने परिपाटी र त्यसले निम्त्याएको द्वन्द्वले हामी मानिसको सोचाइको स्तरीयता देखाएकै छ । व्यवशायी नेताज्यूहरु, कतै तपाईले व्यवशायको धर्म भूलेर पार्टीको चरित्र त अंगाल्नुभएन ? किनकी तपाईका गतिविधिहरु व्यवशायीका नेताले भन्दा पनि पार्टीका नेताले गर्ने, बोल्ने खालका देखिएका छन् ।

व्यवसायीले व्यवसाय गर्छन्, आफ्नो व्यवसाय अगाडि बढाउने क्रममा भोलि एउटा व्यवसायीलाई अर्को व्यवसायीको साथ सहयोग आवश्यकता पर्ने हुन्छ नै । तर आज चुनाबी माहोलका क्रममा सामाजिक संजालमा एक अर्का निकट समर्थकहरुले एक अर्का बीच लगाउने आरोप प्रत्यारोपले भोली व्यवसायीहरु त नजिक होलान् पनि तर एउटा समर्थक र अर्को समर्थक विचको सम्बन्धमा चरम तिक्तना जीवनभर रहीरहन्छ ।

भनिन्छ नि, अभिव्यक्तिको चोट सबैभन्दा गहिरो हुन्छ । बरु हतियारको चोट बिर्सन सकिन्छ, तर कसैले भनेको कुराले मानिसलाई जीवनकालसम्म पनि बिझ्न सक्छ । त्यसैले हामी टिका टिप्पणी गर्दा संयमित बन्न आवश्यक छ । चुनाव सकिएपछि हामी यही समाजमा बस्ने हो । त्यही मानिससँग हात मिलाएर हिड्ने हो । त्यसैले आज उग्र हुनुको आवश्यकता छैन । आज जसको विरोध गरिन्छ, भोलि उनीहरुकै सहयोग लिनुपर्ने दिन आउन सक्छ ।

हामी स्वभावैले कुनै पनि राजनीतिक दलमा आस्था राख्छौ नै । यद्यपी आस्थाका नाममा अरुलाई खराबै देख्ने परिपाटीको अन्त्य चाही हामी कहिले गर्छौ ? एउटा साधारण व्यवसायी चुनाबी मैदानमा आउने अवस्था छैन, चुनाबी प्रक्रिया अत्यन्तै भड्किलो र खर्चिलो नबनाउनेतर्फ चाँही किन कसैले ध्यान दिन सकेका छैनौँ । चुनाबमा खर्च धेरै गर्नेले मात्रै जित हात पार्न सक्छ भन्ने मानसिकता भइसक्यो ।

आज उद्योग वाणिज्य संघको चुनाब होला, भोली अन्य संघ संगठनका चुनाब यसरी नै खर्चिलो भए स्पष्ट भिजन भएका, सही नेतृत्व प्रदान गर्न सक्नेहरु चुनाबी मैदानमा कसरी आउन सक्लान् र ? यो ठाउँको साँच्चिकै विकास गर्न सक्नेहरु कसरी अघि बढ्न सक्लान् र ?

यस्ता भड्किला चुनाबहरुले भोलि जितिहाले पनि चुनाबमा खर्च गरेका करोडौँ रकम फेरी जम्मा गर्न केही दिन मै त सम्भव नहोला । अनि घाटा पूर्ती गर्न तिनै उम्मेदवारले भोलि अर्को गलत बाटो अपनाउँदा त्यसको असर त यही समाजलाई पनि त पर्ने हो ।

जुनसुकै पक्ष होस्, चुनाव हो । जीत एक जना कै हो र हार पनि एक जना कै हो । त्यसैले खर्चिलो परिपाटी त्यागौँ । संघ संगठन बलियो बनाउन स्पष्ट भिजन, कार्यक्षमता, कुशलता, असल नेतृत्व आवश्यक पर्छ । मन ठूलो बनाएर तन, मन धन दिनसक्ने व्यक्तिको आवश्यकता पर्छ ।

चुनाबी मैदानमा आएर विभिन्न आश्वासन दिनेभन्दा पनि स्पष्ट भिजन, व्यवसायमा इमान्दार, नेतृत्व गर्ने खुबी भएका, सहयोगि भावना भएकाहरु अगाडि आउन् । ताकी उद्योग वाणिज्य संघ इटहरीले मात्र हैन, हरेक व्यवसायीले उनीहरुबाट आफ्ना व्यवसाय माथि उठाउने उर्जा प्राप्त गरोस् ।

अन्तिममा फेरी पनि भन्छु, बोलीको हतियारले निकै ठूलो चोट दिन्छ । सभ्य, शिष्ट भएर पक्ष विपक्षका आफ्ना तर्कहरु राखौं । आलोचनै गरेपनि सभ्य भएर गरौं । ताकि जसको आलोचना गरिएको हो, उसले पनि साँचो नै भनेको हो भनेर सहज रुपले स्वीकार्न सकोस् ।