विष्ट पक्षले गलत प्रचारवाजी गरेको आरोप, कार्टुन भिडियोबारे विष्टले भने, ‘व्यापारी जनावर हुन् ?’

Newslaya Home

विष्ट पक्षले गलत प्रचारवाजी गरेको आरोप, कार्टुन भिडियोबारे विष्टले भने, ‘व्यापारी जनावर हुन् ?’

बिहीबार १२, असार २०७६

इटहरी । इटहरीका व्यवशायीहरुलाई चुनाव मज्जैले लागेको छ । भोट माग्नेदेखि लिएर विभिन्न तरिकाले प्रचारप्रसारसमेत गरिरहेका छन् ।

चुनावमा भिडिरहेका दुवै पक्षले उम्मेदवार सार्वजनिक कार्यक्रमलाई सक्दो भव्य बनाए । पौडेलले पार्टी प्यालेसमा व्यवस्थित कार्यक्रम गरे भने विष्टले सडकको छेउबाटै कम खर्चमा उम्मेदवार घोषणा कार्यक्रम गरे । विष्टको कार्यक्रम भव्य देखिन्थ्यो ।

यस्तै भर्खरै दुवै पक्षले मनोनयनसमेत दर्ता गरे । जुलुस र पन्चै बाजासहितको उक्त कार्यक्रममा सो क्रममा संख्यात्मक रुपमा शक्ति प्रदर्शन नै गरे । उक्त प्रदर्शनमा विष्ट पक्षले भन्दा पौडेल पक्षले ठूलो संख्याको शक्ति प्रदर्शन गरेको थियो ।

दुवै पक्ष सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रयोग गरेर पनि प्रचारप्रसार गरिरहेका छन् । सोही क्रममा चुनावमा लागेको भीम पौडेल पक्षले बनाएको एउटा भिडियो चर्चित भयो ।

कार्टुनको प्रयोग गरेर बनाइएको उक्त भिडियोलाई सयौं पटक शेयर गरिएको छ । भिडियोमा अर्का उम्मेदवार शैलेश विष्ट र उनको पक्षको आलोचना गरिएको छ ।

उक्त भिडियोमा आफ्नो कम र अर्को पक्षको आलोचना बढि गरिएको छ । भिडियोलाई लिएर विष्ट पक्षले तीव्र असन्तुष्टि जनाएको थियो । वर्तमान अध्यक्ष लिलम बस्नेत पनि उक्त भिडियोमा आफ्नै समेत आलोचना भएपछि आक्रोशित भए । 

भिडियोमा खासगरी विष्टको आलोचना गरिएको थियो । विष्ट पक्षधरले गरेका भनिएका कामहरु भएनन् भन्ने आशय थियो । वर्तमान समितिमा कार्यवाहक अध्यक्ष चलाएका विष्ट पक्षले उद्योग वाणिज्य संघको भवन निर्माण, सिसि क्यामेरा र सोलार लाइट जडानलाई उपलब्धीका रुपमा व्याख्या गरिरहँदा उक्त भवन अघिल्लो समितिले बनाएको र लाइट सरकारको पैसामा जोडिएको भन्दै आलोचना गरिएको थियो ।

भिडियो आएपछि विष्टलेसमेत असन्तुष्टि जनाएका छन् । ‘आम व्यापारीलाई जनावरको रुपमा चित्रण गरिएको छ,’ उनको आरोप छ, ‘के व्यापारी जनावर हुन् ?’ उनले भिडियो सार्वजनिक भएपछि व्यापारीमाझ आफूलाई जनावर बनाएर प्रस्तुत गरिएको भन्दै असन्तुष्टी फैलिएको दावी गरे ।

भिडियो आउनुअघि विष्ट पक्षधरले आफ्नो प्रतिबद्धता पत्रमै पौडेल पक्षको आलोचना गरेको तथ्य सार्वजनिक भएको थियो ।

तर सुरुमा सार्वजनिक गरिएको पौडेल पक्षको प्रतिबद्धतापत्रमा समेत आफूहरुको आलोचना गरिएको विष्टको दावी छ । ‘वहाँहरुको प्रतिबद्धतापत्रमा पनि पार्टीको झण्डा बोकेर भागेको जस्ता कुरा लेखिएको छ,’ विष्टले भने, ‘मैले भीमजीहरुलाई राखेर यो कुरा भनिरहँदा वहाँहरु आफै छक्क पर्नुभयो,’ उनले थपे, ‘उम्मेदवारहरुले नै आफ्नो प्रतिबद्धतापत्र पढ्नुभएको रहेनछ ।’