गैँडा मर्ने क्रम बढेपछि अनुसन्धान गर्न अफ्रिकी विज्ञ आउँदै

Newslaya Home

गैँडा मर्ने क्रम बढेपछि अनुसन्धान गर्न अफ्रिकी विज्ञ आउँदै

आइतबार ०८, असार २०७६

काठमाडौँ । गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानको लागि अफ्रिकी विज्ञ आउने भएका छन् ।

चालू वर्ष निकुञ्जमा प्राकृतिक कारणले ३८ र अन्य कारण दुई गैँडा मरेका छन्। दुर्लभ एकसिंगे गैँडा जोगाउन वासस्थान व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ।

यसको अनुसन्धानका लागि अफ्रिकाबाट दुई विशेषज्ञ आइतबार आउँदै छन्। अफ्रिकाका डा. रिचर्ड र डा. केरिनले एक साता नेपाल बसेर अध्ययन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताएका छन्।

९५२.६३ वर्ग किमी क्षेत्रफलमा फैलिएको चितवन निकुञ्जमा गैँडाका लागि मुख्य वासस्थान २५ प्रतिशत मात्र छ। पछिल्लो तथ्याङ्क (सन् २०१५) अनुसार निकुञ्ज र आसपासको क्षेत्रमा ६ सय ५ वटा गैँडा छन्।

श्रेष्ठका अनुसार वासस्थान विनाशले पनि गैँडाको वंश विस्तारमा प्रत्यक्ष असर पुर्‍याउँछ। घाँसे मैदानको अवस्था, उपलब्ध गैँडा, तिनको जन्म र मृत्युदरलगायत तथ्य केलाएर भार क्षमता आकलनको काम भइरहेको उनको भनाइ छ। नेपाली तथा विदेशी विज्ञले गैँडाको भार क्षमता थाहा पाउन गैँडाको सङ्ख्या, आवश्यक घाँसे मैदान, वासस्थान, सिमसार, पोखरीलगायत अन्य आवश्यकताको विश्लेषण गर्नेछन्।