‘महिला व्यवशायीहरुलाई सहयोग गर्नेगरी भूमिका खेल्छु’ : पुनम थापामगर

Newslaya Home

‘महिला व्यवशायीहरुलाई सहयोग गर्नेगरी भूमिका खेल्छु’ : पुनम थापामगर

शुक्रबार ०६, असार २०७६

इटहरीमा हुन लागेको उद्योग वाणिज्य संघको चुनावलाई विशेष महत्वका साथ प्रदेश १ मा हेरिएको छ । व्यवशायिक केन्द्र बनेको इटहरीको यो चुनावमा महिलातर्फ चार जना प्रतिष्पर्धी छन् । तीमध्येकी एक सुमेरु गेष्ट हाउसकी सञ्चालिका पुनम थापामगर महिलातर्फ सदस्यमा उठेकी छिन् । उनीसँग न्यूजलयको लागि सरिता भण्डारीले गरेको कुराकानी :

चुनावको तयारी कसरी गरिहनु भएको छ ?
चुनावको तयारी पहिलो चरणमा घरदैलो कार्यक्रम गरिरहेका छौँ । सम्पुर्ण उद्योग व्यवसायीको घरदैलोमा गएर भेटघाट तथा वहाहरुको समस्याको बारेमा बुझ्ने कामहरु भइरहेको छ ।

तपाइको व्यवसायिक यात्राको बारेमा बताइदिनुस न ।
म २०५४ सालमा इटहरी आएँ । इटहरी आएर मैले सुरुमा सप्तकोसी कलर ल्याबमा काम गर्न थालेको थिएँ । त्यहाँ आएका सामानहरुको रेकर्ड राख्ने, बेच्ने जस्ता काम गर्नु पथ्र्यो । त्यहाँ २ वर्ष काम गरेपछि मेरो बिहे भयो । त्यसपछि म आफ्नै श्रीमानको फोटो स्टुडियो तथा क्यासेट सेन्टरमा काम गर्न थाले । हाम्रो पसलमा सामान भारत, विराटनगरबाट आउँथ्यो भने इनरुवा, झुम्का, पकली, दुहबी, सोनापुर, धनकुटा, भोजपुर, तरहरा, बेलबारी तथा दमकसम्म हाम्रो सामान जान्थ्यो ।
पछि यो एफ.एम, मोवाइल, टिभीको विकास भएपछि सिडि तथा क्यासेटको बजार घट्यो । त्यसपछि व्यवसाय बदल्ने सोँचले हामीले होटल सञ्चालन गर्यौं । अरुको घरमा भाडा लिएर २०६८ सालमा सुमेरु गेष्ट हाउस सञ्चालनमा ल्यायौं । यो व्यवसाय गर्दा गर्दै पनि टिम मिलेर पत्रपत्रिका सञ्चालनमा ल्याएका थियौ । हामीले सामुदायिक अफसेट पनि खोल्यौ । जनमत साप्ताहिक हुँदै इटहरी साप्ताहिक सञ्चालनमा ल्यायौं । अहिले हामीले इटहरी साप्ताहिक सञ्चालन गरिरहेका छौं । पछिल्लो समय हामीले एक करोड २० लाखको लगानीमा आफ्नै भवनमा होटल सञ्चालन गरेका छौं ।

यो व्यवसायिक यात्राको दोरमा सफल व्यवसायि बन्न के गर्नु पर्दो रहेछ ?
सफल व्यवसायि बन्न एकै चोटी धेरै लगानी गरेर ठुलो नाफा खोज्नु हुँदैन । हामीले व्यवसाय सुरु गरिसकेपछि त्यसलाई अगाडी बढाउन मेहेनत गर्यौ भने अवश्य पनि सफल बन्न सकिन्छ । सफल व्यवसायी बन्न संयमता र धैर्यता हुनु आवश्यक हुन्छ ।

इटहरीको सन्दर्भमा व्यवसायीका मुख्य समस्याहरु के–के छन् त ?
इटहरीमा अहिलेको मुख्य समस्या भनेको घर भाडा हो । यहाका घरवेटिहरुले घर भाडा एकैपटक धेरै बढाइदिने गर्छन् । अर्को समस्या भनेको होलसेल र रिटेलको समस्या छ । होलसेलबाट रिटेलले सामान किनेर ल्याएको हुन्छ तर होलसेलले नै उपभोक्ताहरुलाई पनि होलसेल दाममै सामान दिने गर्छ । यो हुँदा रिटेल पसलले नाफा कमाउन सक्दैनन् । अर्को बिहिबारे हाटको समस्या छ । यस्तै बिहिबार र शनिबार पसल बन्द गर्ने भन्ने विवाद छ । यो पनि एउटा मुख्य समस्याको रुपमा देखिएको छ ।

तपाई त महिला पनि हुनुहुन्छ, जितेर गएपछि यो क्षेत्रका व्यवशायी र त्यसमा पनि महिलाहरुको लागि के गर्नुहुन्छ ?
मैले जितेर गएपछि म एउटा महिला व्यवसायी पनि भएको हैसियतले सम्पूर्ण महिला व्यवसायीहरुको हक हितका लागि लड्ने छु । व्यवसायीका समस्याहरुको समाधान गर्न सम्बन्धीत नियहरुसंग पहल गर्नेछु । महिलाहरुलाई व्यवशाय गर्न धेरै किसिमका चुनौतिहरु छन् । आर्थिक अवस्था, सामाजिक मूल्य मान्ताहरुले असर पार्छन् । ती सबै कुराहरुलाई ध्यान दिन्छु ।
मैले जितेँ भने महिला व्यवशायीहरुको विकासमा ध्यान दिनेछु । महिला व्यवशायीहरुको विकासमा ध्यान दिँदै गर्दा पुरुष व्यवशायीहरुको समेत विकास हुन्छ ।

तपाइको प्रतिस्पर्धीभन्दा तपाई के कारणले सक्षम छु र जित्छु जस्तो लाग्छ ?
मलाइ चै म आफ्नो प्रतिस्पर्धीभन्दा धेरै कुराले सक्षम छु जस्तो लाग्छ । किनभने मैले व्यवसाय गर्न अर्काकोबाट सिकेको हो । मैले धेरै कुरामा संघर्ष गरेकी छु । जस्तै पत्रकारिता, होलसेल पसल, स्टुडियो, सबैमा संघर्ष गरे । अहिले उद्योग वाणिज्य संघको कार्यसमितिमा नभएता पनि मलाई व्यापारीहरुको समस्याहरुको विषयमा अवगत छ । अहिले पनि व्यापारीहरुमा समस्या आयो भने मलाई बताउने गर्नु हुन्छ । म पनि वहाँहरुको समस्या समाधानको उपायहरु खोज्ने गर्छु ।

आफ्नो भोटर्सहरुलाई के भन्न चाहनु हुन्छ ?
उद्योग वाणिज्य संघमा यो मेरो पहिलो प्रयास हो । धेरै वर्षदेखि इटहरीमा व्यवसाय गरेर बसेको हुनाले सम्पुर्ण व्यवसायिहरुको दुख, पिर, समस्या मैले बुझेको छु । म यतिकै बसेँ भने आधिकारीक रुपमा व्यापारीहरुको समस्या समाधान गर्न पाउँदिन । सोहि कारण मैले यहाँ उमेदवारी दिएकी हुँ । जिताउनुहुन्छ भन्ने आशा गरेको छु ।