वेस्ट इण्डिजले बंगलादेशलाई दियो ३२२ रनको लक्ष्य

Newslaya Home

वेस्ट इण्डिजले बंगलादेशलाई दियो ३२२ रनको लक्ष्य

सोमबार ०२, असार २०७६

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले बंगलादेश सामु ३२२ रनको लक्ष्य प्रस्तुत गरेका छ ।

टाउनटनस्थित काउन्टी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन बनायो ।

वेस्ट इन्डिजका लागि ओपनिङ ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न नसके पनि साई होपको आकर्षक ९६ रनको प्रदर्शनले वेस्ट इन्डिजले उच्च योगफल बनाएको हो ।

एभिन लेविसले ७०, शिम्रन हेट्मायरले २६ बलमा ५०, कप्तान जासन होल्डरले १५ बलमा ३३ रन बनाएका थिए ।

यता बंगलादेशका लागि भने मोहम्मद साइफुदिन र मुस्तफिजुर रहमानले समान ३–३ विकेट लिएका थिए । सकिब अल हसनले २ विकेट लिएका थिए ।

दुवै टिमले चार खेलबाट ३ अंक बटुलेका छन् । यो खेल हार्ने टिमलाई सेमिफाइनलको यात्रा मुस्किल हुनेछ ।

दुई टिमबीचको पछिल्लो पाँच भेटमा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले चार खेलमा जित निकाल्दा वेस्ट इन्डिज एक खेलमामात्र विजयी भएको थियो ।