बिरामीको मृत्यु भएपछि कन्काई हस्पिटलमा तोडफोड

Newslaya Home

बिरामीको मृत्यु भएपछि कन्काई हस्पिटलमा तोडफोड

सोमबार २७, जेठ २०७६

बिर्तामोड । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिर्तामोडस्थित कन्काई हस्पिटल तोडफोड गरेका छन् ।

एपेण्डिक्सको समस्या भएपछि सूर्योदय नगरपालिका–९ की २२ वर्षीया विविता तामाङलाई उपचारका लागि गत बुधबार कन्काई हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा आइतबार बिहान तामाङको निधन भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन् ।

मृतकका आफ्न्तले घटनामा चिकित्सकको लापरबाही मात्र नभएर हत्या गरेको आरोप लगाएका छन् । उनको उपचारमा संलग्न डाक्टर सन्तोषकुमार मिश्रलाई कानूनबमोजिम कारवाही हुनुपर्ने बताएका छन् ।

उपचार नहुने हो भने रेफर गरिदिन पटक–पटक अनुरोध गर्दा हस्पिटलले नमानेको र आइतबार बिहान मृत्यु भएपछि आँखामा टेप लगाएर रेफर गरेको आफ्न्तले बताएका छन् ।

तामाङलाई विराटनगरको नोबेल हस्पिटल पुर्याउँदा उनको मृत्यु भइसकेको भनेपछि फर्काएर ल्याएका बताइएको छ । मृतकका आफन्तको दबावपछि प्रहरीले चिकित्सक मिश्रलाई सुरक्षा दिएर अस्पतालमा उपस्थित गराएको थियो । त्यसक्रममा उपस्थित भीडले चिकित्सक मिश्रमाथि हातपातसमेत गरेको थियो ।

आन्दोलनकारीले अस्पतालमा तोडफोड शुरु गरेपछि प्रहरीले भीड नियन्त्रणका लागि तीन राउण्ड अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

लगभग दुई दर्जनको सङ्ख्यामा रहेका प्रदर्शनकारीको भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट एक दर्जन आफन्त घाइते भएका छन् । अर्का स्थानीय सुजन राईको टाउकोमा चोट लागेको छ ।