चैनपुरमा ६०० वर्ष पुरानो ईँटा भेटियो

Newslaya Home

चैनपुरमा ६०० वर्ष पुरानो ईँटा भेटियो

सोमबार २०, जेठ २०७६

संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभाको पुरानो सदरमुकाम चैनपुर बजारमा पुरातात्विक महत्वका वस्तु भेटिएका छन् । त्यहाँ ६ सय वर्ष पुरानो इँटा फेला परेको जनाइएको छ ।

चैनपुर नगरपालिका–६ मा भेटिएको त्यो इँटा मल्लकालीन समयमा उत्पादन भइ प्रयोगमा आएको दावी गरिएको हो । स्थानीय नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा १४ औंँ शताब्दीभन्दा अघिको रहेको इतिहासविद् डा.रमेश ढुंगेलले दावी गरेपछि यो विषय बाहिर आएको हो ।

ढुङगेल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञटोली सदस्य छन् ।

चैनपुर बजार ऐतिहासिक महत्व बोकेको ठाउँ हो । तर ६०० सय वर्ष भन्दा पुरानो इँटा फेला पर्नु चानचुने कुरा होइन । यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको बताइएको छ ।

फेला परेको इँटाको लम्बाइ १४ इन्च, चौडाइ ८ इन्च र मोटाइ २ इन्च रहेको छ । यसबारे पुरातत्व विभागमा लिखित जानकारी गराएपछि विभागका कर्मचारी आएर थप खोजबिन गर्नेछन् ।

चैनपुर बजारमा अझै पनि पुराना शैलीका घर प्रशस्त छन् । मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको चैनपुरका मेयर भरतकुमार खत्रीले बताए ।

भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी बत्तावरसिंंह बस्नेत टोलीको योगदान रहेको इतिहास छ ।

विक्रम संवत् १८४५ मा स्थानीय स्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, विश्राम राउत र लिम्बू जातिका लडाकूलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको इतिहास छ ।

१८३०–३१ मा पृथ्वीनारायण शाहका पालामा बत्तावरसिंंहका बुवा जनरल अभिमानसिंंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ । सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो । तर पछि बत्तावरसिंंहको टोलीले फिर्ता ल्याएको थियो ।

चैनपुरमा मात्रै होइन, केही समयअघि भोटखोला गाउँपालिकाको हटिया र गोलामा समेत पुरानो हतियार फेला परेको थियो । संखुवासभाको किमाथाङ्का, हटिया, गोला, गढी बजार, खाँदबारी र चैनपुर लगायतका स्थानमा नेपाल एकीकरणको समयमा भोटसँग लडाइँ भएको र लडाकूहरुले हतियार लुकाएको, गढी बनाएको जस्ता थुप्रै खालका ऐतिहासिक महत्व बोकेको इतिहासविद्हरुको दावी छ ।