​‘२७ वर्ष काम गरेको संस्थाले बिरामी हुँदा पनि हेरेन’ : याम प्रधान (भिडियो अन्तर्वार्ता)

Newslaya Home

​‘२७ वर्ष काम गरेको संस्थाले बिरामी हुँदा पनि हेरेन’ : याम प्रधान (भिडियो अन्तर्वार्ता)

शनिबार १६, चैत २०७५

इटहरी । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी घोषणा गरेका इटहरीका पत्रकार याम प्रधान विगत केही समययता मृगौला रोगसँग जुधिरहेका छन् ।

एक महिनादेखि उनी विराटनगरस्थित नोबेल अस्पतालमा डायलासिस गराइरहेका छन् । केही समयअघि ग्यास्ट्राइसोसिस नामक रोगका कारण झण्डै मृत्युको मुखमा पुगेको बताउने प्रधान अहिले मृगौला नै फेर्नुपर्ने अवस्थामा छन् ।

सरकारले निःशुल्क डायलासिसको सुविधा दिएपनि औषधीको लागि नै महिनामा ४० हजार रुपैया बढी खर्च हुने बताउँदै प्रधानले सहयोगको लागि आग्रह गरेका छन् । ‘धान्न गाह्रो भइसकेको छ, छोरीको २५ हजारको कमाईले सबै खर्च धान्नु परिरहेको छ,’ उनी भन्छन् । 

उनकी एकमात्र छोरी इटहरीस्थित प्रभु बैंकमा जागिरे छिन् । छोरीको कमाईले आफ्नो लागि औषधी, घरखर्च र पढाई खर्च धान्नुपर्ने अवस्था रहेको उनको दुःखेसो छ । पत्रकारीतामा झण्डै चार दशक बिताएका पत्रकार प्रधान सरकारको सही नीतिको अभावका कारण पत्रकारहरुले बिरामी हुँदा समस्या भोग्नु परिरहेको बताए ।

यति बिरामी हुँदा पनि उनले आफू कार्यरत् संस्था नेपाल सरकारको समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले नहेरेको उनको गुनासो छ । २७ वर्ष राससमा निरन्तर काम गरिसकेका उनी अहिलेसम्म स्ट्रिन्जर छन् । अर्थात् उनको निश्चित तलब छैन । समाचार लेखेवापतको पारिश्रमिक पाउँछन् । ‘मभन्दा दुई तीन वर्षपछि राससमा छिरेकाहरु महाप्रबन्धक भइसके,’ उनी भन्छन्, ‘मैले चाकडी गर्न नजानेकैले अहिलेसम्म स्थायी पनि हुन सकिनँ ।’

उनले राससको लागि इटहरीमा जग्गासमेत उपलब्ध गराउन पहल गरिदिएको सम्झीँदै भन्छन्, ‘मैले मेरो संस्था भनेर गरेँ, तर राससले मेरो लागि केही गरेन र गर्ला भनेर आश पनि छैन ।’
पत्रकारितामा दुःखै भएपनि नशाको कारणले आफू लागिरहेको बताउँछन् । उनी अहिलेसम्म पनि रिपोर्टिङ गरिरहेका छन् । उनलाई आराम र उपचारको आवश्यकता छ । शरीरले सक्दैन, तर हात र खुट्टा रोकिँदैनन् । लामो समयपछि शुक्रबार उनले एउटा कार्यक्रममा सहभागिता जनाए । भने, ‘घर बस्दा पनि दिक्क लाग्छ ।’