​‘वार्ड नम्बर १२ मा खानेपानीको समस्या छ’

Newslaya Home

​‘वार्ड नम्बर १२ मा खानेपानीको समस्या छ’

बुधबार ०१, फागुन २०७५

हेमानन्द दहाल इटहरी उपमहानगरपालिका वार्ड नं. १२ का वडाध्यक्ष हुन् । वडा नं. १२ खनारको मुख्य चोक समेट्ने वडा हो । वडाध्यक्षको रुपमा जिम्मेवारी सम्हालेको डेढ वर्षपछि वडाको प्रगती र अन्य विषयमा वडाध्यक्ष दहालसँग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानीको सार प्रस्तुत गरिएको छ :

आजभोली के गर्दै हुनुहुन्छ ?
आजभोली वडाकै कामहरु वडामा विनियोजित रकमहरु सम्झौता गराउने, कार्यान्वयन गराउने, वडामा आएका समस्याहरुका सम्बन्धमा छलफल गर्ने काममै व्यस्त छु । 

वडाको विकासको अवस्था कस्तो छ ?
पहिलेको खनार गा.वि.स भएकोले गर्दा इटहरी उप–महानगरपालिका भित्रमा यो पिछडिएकै क्षेत्र हो । तर अहिले विकासको अवस्था ठिकै छ । यो १२ नम्बर वडा राजमार्गसँग टच भएकोले गर्दा विकासको अवस्था ठिकै छ । 

वडाको विकासको कुन कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
वडाको विकासको पहिलो प्रथमिकतामा बाटो निर्माण रहेको छ । त्यस्तै दोस्रो र तेस्रोमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छु । 

वडाको समस्याहरु के के छन् ?
वडाका आकांक्षाहरु धेरै छन् । समस्याहरुमा पनि दैनिक आउने समस्याहरु धेरै छन् । तर पनि मुख्य समस्या भनेको वातावरण मै छ । त्यस्तै खानेपानीको पनि समस्या छ । ट्याङ्की निर्माण भएको त छ तर त्यो सञ्चालन भएको छैन । 

तपाईलाई कर्मचारीहरुले कतिको सहयोग गरिरहेका छन् ?
हामीलाई अहिले वडा कार्यालयमा कर्मचारीको पनि अभाव रहको छ । तर वडा कार्यालयमा भएका कर्मचारीहरुले सहयोग गरिरहनु भएको छ । 

चुनाव अगाडी गर्नु भएका वाचाहरु के–के पुरा गर्नुभयो ?
चुनावी प्रक्रियाको बेला धेरै कुराहरु त हामीले पनि बुझेको थिएन । स्थानिय सरकार भनेको बुझेका थिएनौँ । वडाबाटै बजेट चलाउन पाइन्छ भन्ने हाम्रो सोचाइ थियो । अहिलेसम्म जुन निश्चित रकम छुटिएर आएका हुन्छन्, त्यसलाई कसरी राम्रोसँग परिचालन गर्ने भन्नेतर्फ लागिरहेका छौँ । 
हामीले चुनाव लड्दै गर्दा धेरै कुराहरु गरेका थियौँ । त्यसमा पनि बाटाघाटाको हकमा १२ नम्बर वडाका सबै बाटाहरुमा यो वर्ष ड्रेन निर्माण गर्ने लक्ष्य रहेको छ भने पाँच वर्षभित्रमा हरेक बाटो कालोपत्रे गरिसक्ने लक्ष्य रहेको छ । 

त्यस्तै खानेपानी सञ्चालन गर्नको लागि सडक विस्तारले गर्दा अण्डरग्राउण्ड गरेको पाइप भत्किएको छ । त्यसलाई सडक विभागले नै पुन निर्माण गर्नुपर्ने सम्झौता भएको छ । शिक्षा र स्वास्थयको हकमा हाम्रो वडाको स्थिति राम्रै छ । विद्यार्थीकै संख्यालाई नै हेर्ने हो भनेपनि इटहरी नगरपालिका भित्रका विद्यालयलाई हेर्ने हो भने विद्यार्थीको संख्या हाम्रो विद्यालयमा बढी रहेको छ । 

वडाको विकासको कुरालाई लिएर तपाईले कोसँग के आग्रह र माग राख्नु भएको छ ?
हामीले वडाको विकासको लागि माग राख्ने ठाउँ भनेको पहिलो त नगरपालिका नै हो । दोस्रोमा प्रदेशका सांसद र तेस्रोमा संघको सांसद हो । उहाँहरुको कोषबाट पनि केहि रकम ल्याउनको लागि हामीले पहल गरिरहेका छौँ । यसअघि पनि प्रदेशबाट केहि रकम एकलौटी भयो । संघबाट पनि यसपटक १०÷१२ लाख रुपैया आउने सम्भावना छ । त्यस्तै विभिन्न एनजिओहरु सँग पनि सहकार्यको कुराहरु भइरहेका छन् । 

के भयो भने यो वडाको विकास चाँडो होला ?
वडाको विकासको लागि हामीले स्रोत जुटाउन सक्यौँ र सबैबाट सहयोग भयो भने र यो हाम्रै लागि हो भनेर सबैलाई बुझाउन सकियो भने वडाको विकास चाँडो हुन्छ जस्तो लाग्छ । 

अन्त्यमा कसलाई के भन्न चाहनुहुन्छ ?
अन्तिममा हाम्रा स्थानीय तह र स्थानीय सरकार भनेर हामी निर्वाचित भएर आयौँ । त्यहि अनुसारको केहि कानुन बनेर आइसके भने केहि कानुन बन्न बाँकी नै छन् । प्रदेशको राजधानी पनि कता हो भन्ने टुंगो लागिसकेको छैन । यि सबै प्रक्रिया पुरा गर्न केहि समय त लाग्छ । तर सबैले विकास प्रति आफ्नो आस्था चाहाना राखेर, सबैले सकारात्मक सोच राखेर अगाडी बढ्यौँ भने, सबैको सहयोग भयो भने वडाको, देशको विकास चाँडो हुन्छ ।