‘पक्ष विपक्ष नहेरी वडालाई बजेट दिनुपर्छ’ : मणिराम श्रेष्ठ, वडाध्यक्ष

Newslaya Home

‘पक्ष विपक्ष नहेरी वडालाई बजेट दिनुपर्छ’ : मणिराम श्रेष्ठ, वडाध्यक्ष

बुधबार २३, माघ २०७५

इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ जुझारु वडाध्यक्ष हुन् । वडाध्यक्षको रुपमा काम थालेको डेढ वर्ष बितिसक्दा वडा नं. २० मा केके समस्या छन् र कोसँग के अपेक्षा छ भन्ने विषयमा न्युजलयकी सरिता भण्डारीले गरेको कुराकानी ः

आज भोली केमा व्यस्त हुनुन्छ ?
आज भोली वडा त्यसैपनि एकदमै व्यस्त छ । अहिले उपभोक्ता समिति गठन तथा विकास निर्माणका कार्यलाई समयमै सक्ने भनेर उपमहानगरपालिकाको एउटा टार्गेटअनुसार उपभोक्ता समिति गठन त्यसको प्रकृया, गठन, छलफलहरु भइरहेको छ, त्यसैमा व्यस्त छु । 

वडाको विकासको अवस्था कस्तो छ ?
विकास जुन तरिकाले अगाडि जानुपर्ने त्यसरी जान सकेको त छैन । तर, पहिलेभन्दा जनप्रतिनिधि आइसकेपछि प्रत्येक क्षेत्रमा मिलाएर विकास निर्माणका कार्य भइरहेको अवस्था छ अहिले । 

वडाको के कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
यो वडाको पहिलो प्राथमिकता भनेको सरसफाई हो । सरसफाइमा वडाले आफ्नो भुमिका निर्वाह गर्दा पनि जनप्रतिनिधिहरुलाई सबै जिम्मेवारी दिएको जस्तो महसुस जनतालाई हुन्छ । तर दायित्व निर्वाह अलिकति जनताले पनि गर्दछन् । प्रत्येक शनिबार हरेक टोलहरुमा पनि सरसफाई गर्दैछन् । 

तपाईहरुलाई कर्मचारीले कतिको सहयोग गरिरहेका छन् ?
यो वडामा कर्मचारीले धेरै नै सहयोग गरिरहेका छन् । 

चुनाव अगाडि केके कुराको आश्वासन दिनु भएको थियो र केके पुरा गर्नु भयो ?
मैले दिएका आश्वासनहरु क्रमशः पुरा हुँदैछ । मैले एउटा पार्कको कुरा गरेको थिएँ, खेलकुदको कुरा गरेको थिएँ । २० नम्बर वडामा सार्वजनिक जग्गा नभएको कारण हामीहरुले सार्वजनिक जग्गा भएको ठाउँमा सम्बन्धित निकायसँग माग गर्ने भन्ने निवेदन गरेका छौँ । र नगरकार्यसमितिको बैठकबाट भर्खर पास गरेका छौँ । यस्तै संघीय सरकार र केन्द्रीय सरकारमा अपिल गर्ने र त्यसलाई व्यवस्थापन गर्ने विषयमा अगाडि बढिरहेका छौँ ।

वडाको मुख्य समस्याहरु के के छन् ? र समस्या समाधान गर्न के गर्नु पर्ला ?
यो वडाको समस्या भनेको पहिला गाविसपछि नगरपालिका भएको अवस्थामा अहिले बनेको कानुनले अलिकति असर पारेको छ । पहिले गाउँ वस्ती हुँदा १०–१२ फिटको बाटो भएकोले घरहरु बनिसकेको अवस्थामा अहिले नगरपालिकाको मापदन्ड अनुसार १६–२० फिट बाटो अनिवार्य भनेको अवस्थामा विकास निर्माणको कार्यलाई अफ्ठ्यारो परेको छ । 

अर्को समस्या भनेको वडामा दुई वटा खोला छ । उक्त खोलाहरुमा सौँचहरु प्रयोग गर्ने, गाई बस्तु बाँधी फोहोर गर्ने कुराहरुलाई एक चरण डोजर लगाएर सरसफाई गरेका छौँ । तर पनि अझै उक्त समस्या समाधान भएको छैन । 

त्यसैगरि बजारको व्यवस्थापनमा पनि समस्या छ । यहाँ सोमबार र बिहिबार ठुलो बजार लाग्ने हुँदा एम्बुलेन्स, दमकल छिर्न पनि गाह्रो हुन्छ । त्यसको लागि भर्खरै बजार व्यवस्थापन समिति र प्रहरी प्रशासनले बाटोलाई चौडा बनाउन मद्दत गरेका छन् ।

वडाको विकासको लागि कोसँग के माग राख्नु भएको छ ?
सबैभन्दा पहिले हामीले जिम्मेवारी लिइसकेपछि उचित बजेटहरुको व्यवस्थापन गर्नुपर्छ । सुचना जनतासँग पुग्नु पर्छ र जनताको सहभागितामा योजनाहरु बन्नुपर्छ । पिलर जनता नै हो । टोलटोल गाउँगाउँमा जनताले हामीहरुलाई सुचित गरेर हामीले विकासका योजना ल्याउन भनेका छौं । यसैगरी विभिन्न तहका नेतृत्वलाई के भन्छु भने कुनै पनि पक्ष विपक्ष नहेरिकन सबैलाई समान व्यवहार गर्नुपर्छ । र सबै वडाहरुलाई आवश्यक बजेट सम्बन्धित निकायले दिनुपर्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा २० नम्बर वडाका जनताहरु विकास निर्माणको काममा सहभागी हुनु भएको छ । हामी जनप्रतिनिधिले विकास निर्माणको काममा जति बजेट ल्याएका छौँ र जति विकासलाई हामीले अगाडि बढाईरहेका छौं, त्यसका जनताले प्रत्यक्ष सहयोग गरेका छन् । वडाको विकासको लागि साथ र सहयोग दिने सबैलाई धन्यबाद दिदै आगामी दिनमा अझै साथ पाउने आशा राखेको छु ।