​‘मुख्य चोकमा ड्रेनदेखि आकाशेपुलसम्म आवस्यक छ’

Newslaya Home

​‘मुख्य चोकमा ड्रेनदेखि आकाशेपुलसम्म आवस्यक छ’

सोमबार २१, माघ २०७५

दीपक गौतम इटहरी उपमहानगरपालिका वार्ड नं. ६ का वडाध्यक्ष हुन् । वडा नं. ६ इटहरीको मुख्य चोक समेट्ने वडा हो । वडाध्यक्षको रुपमा जिम्मेवारी सम्हालेको डेढ वर्षपछि वडाको प्रगती र अन्य विषयमा उनीसँग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानीको सार प्रस्तुत गरिएको छ :

आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
अहिले हामी आर्थिक वर्ष २०७५/७६ को योजनाहरुको पहिलो चरणमा उपभोक्ता समितिहरु गठन गर्ने र त्यसलाई सम्झौता गराउने काममा व्यस्त छौँ । 

वडाको विकासको अवस्था कस्तो छ ?
समग्र रुपमा हामीले अघिल्लो आर्थिक वर्षमा गर्न नसकिएका र छुटेका केहि योजनालाई अहिले अगाडी बढाउँदै छौँ । जसअन्तर्गत वार्ड नं.६ मा यो आर्थिक वर्षमा कालोपत्रे ड्रेनसहित टायल लगाउने कामहरु हुँदैछ र लिंक बाटाहरु, ४, ६, ९ नम्बर जोडने बाटाहरु पनि लगभग सम्पन्न हुन्छ । 

यसैगरी, खेतिखोलको भत्किएको पुल निर्माणको पनि हामीले सम्बन्धित निकायसँग छलफल गरेर यहाँबाट टेण्डर प्रक्रिया अगाडी बढाईसकेका छौँ । यो वर्षको कार्यक्रममा रहेको हाम्रो टेंग्रा खोलाको पार्कको पनि योजना अगाडी बढाउँदै छौँ । 

अहिले वडाको कुन कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
विशेषगरी हामीले चोकको सुधारलाई पहिलो प्रथमिकता दिएका छौ । चोकलाई अस्त व्यस्त बनाएका साना सवारी साधनहरु टेम्पो, रिक्साहरुको पार्किङको व्यवस्थापनमा लागेका छौँ । यस्तै सरसफाईमा पनि दैनिक रुपमा हामीले मुख्य चोक आसपासहरुमा फोहोर उठाउने गरेका छौँ । 

अहिले तपाईलाई कर्मचारीहरुले कतिको सहयोग गरिरहेका छन् ?
कर्मचारीले सहयोग गरिरहेका छन् तर कर्मचारी अभावका कारण जति छिटो सेवा दिनुपर्ने थियो त्यसमा चाहि कमि छ । भर्खरै समानिकरणत्व विद्येयक पनि आएको छ । वार्डमा र नगरमा अपुग कर्मचारीहरुको कारण हामीले भनेजस्तो चुस्त दुरुस्त र एकदमै छिटो सेवा दिन सकिरहेको अवस्था छैन । 

यो वडाको मुख्य समस्या के हो ?
यो वडा मुख्य समस्या भनेको चौतर्फी बाटो हो । यसैगरि यातायात, जनघनत्व, पार्किङ अस्तव्यस्ता, सरसफाई र ड्रेनको मुख्य समस्या हो । लगभग यहि समस्याहरु हुन् र त्यसबाहेक हामीले देखेको समस्या भनेको सडक बालबालिकाका छन्, त्यसमा हामी अगाडी बढीरहेका छौँ । यहाँ तेस्रो लिङ्गीहरुको पनि समस्या छ । रातिको समय यौन जन्य कार्यहरुमा सम्लग्न हुने कुराहरुमा पनि कसरी रोकथाम गर्न सकिन्छ त्यसमा पनि हामीले अहिले सामुदायिक प्रहरीमार्फत काम गर्दैछौँ । चाँडै नै कार्यान्वन हुनेछ । 

वडाका समस्याहरु समाधान गर्नको लागि के गर्नुपर्ला ?
विशेष त यो वडाबासी र वडा कार्यालयबिचको साझेदारी तथा सहकार्यमै कामहरु अगाडी बढ्ने हो । केहि महत्वकांक्षी र महत्वपूर्ण योजनाहरु छन् । हामीले अहिले सडक अधिकार क्षेत्रमा केहि अवरोध तथा अफ्ठ्याराहरु छन् । यसलाई बुझेर संघिय सरकारले चाँडै हल गरिदिए सजिलो हुन्थ्यो ।

हामीले सार्वजानिक शौचालय बनाउन सक्छौँ, आकाशे पुलको बजेट छ, डिपिआर तयार छ, तर हामीले बनाउन सकिरहेका छैनौँ । यसमा कसलाई दोष दिने ? कानुनलाई दोष दिनु की, प्रदेश सरकारलाई दोष दिनु की, संघिय सरकारलाई दोष दिनु की, हामीलाई दोष दिनु की एक अर्काको को अर्डिनेसन नभएर धेरै विकास निर्माणका कामहरु अड्किएको अवस्था चाहि छ ।
 
तपाईले चुनाव अगाडी के के कुराको आश्वासन दिनु भएको थियो र के के पुरा गर्नुभयो ?
मैले कुनै झुटो आश्वासन दिएको थिइन र म खासै अश्वासनमा विश्वास पनि राख्दिन । आज तपाईले नगरभरी हेर्न सक्नुहुन्छ, के कति कामहरु भए भएन भनेर । मैले तत्कालिन अवस्थामा भनेको थिए की खेतिखोलाको तटबन्ध हाम्रो वार्डको सबैभन्दा मेजर इस्यु हो । ढलका समस्याहरु हामीले आसपासमा लगभग सकेका छौँ । तर अघि नै मैले भने कि संघिय सरकारले आफ्नो क्रमागत योजनाहरुमा राजमार्गमा मास्टर ड्रेन निर्माण गर्ने बजेट अगाडी आएपछि अहिले हामीले त्यहाँ अतिरिक्त हालेका छैनौँ । तर उहाँहरुले किन ढिलासुस्ति गरिरहनु भएको छ भनेर बुझ्दा अहिले टेण्डर लाग्यो सुरु हुन्छ भन्नु हुन्छ । फेरी त्यो हाम्रो अधिकार क्षेत्र भित्र पनि नपरेको कारणले गर्दा हामीलाई अफ्ट्यारो परिरहेको अवस्था छ । 

वडा विकास निर्माणको कुरालाई लिएर को सँग के आग्रह र माग राख्नु भएको छ ?
विशेषत यो सहकार्यको कुरा हो । हामीसंग केहि कानुनी जटिलता छन् । प्रदेश संघ र स्थानीय तह बीचको यो नयाँ संरचना भएको कारणले गर्दा पनि अलिकति जटिलता आएको हो । त्यसमा हामी सबै बराबरका दोषि छौँ । 
अब यसलाई चाँडैनै बसेर सहजिकरण गर्नुपर्छ । सिमित स्रोत साधनको कारण हामीले चाहिने महत्वपूर्ण र इच्छाएको उपलब्धि नपाइरहेको अवस्था छ । यद्यपी हामी ६ नं. वार्डमा मोटामोटी विकास निर्माणको काम यो आर्थिक वर्षमा सकेर केहि मुख्य चोकका मास्टर ड्रेनका कार्यक्रमहरु जुन धेरै खर्च लाग्ने छन् आकाशेपुलहरु खेतिखोला तटबन्धन टेंगाखोला पार्कहरु हाम्रा कार्यहरु हुन् र त्यसलाई विस्तारै क्रमश ३/४ वर्ष भित्र हामी सक्नेछौ । 

के भयो भने वडाको विकास चाँडो हुन्छ ?
मैले अघि पनि भने यो हामी एक अर्का बिचको समझदारी र सहकार्यले नै हुन्छ । अब गर्ने निकायहरुले जिम्मेवार बोध भएर स्पष्ट पारदर्शिरुपमा काम गर्न सक्ने शक्ति गरे भने त्यो जनताले चाँडो राहत पाउन सक्छन् । त्यो हाम्रो मात्र वडामा नभएर देशै भरी हो । जुन यो विकास निर्माणका कन्ट्रडिसनहरु छन् ऐन नियम कानुनका ढिला सुस्ति भइरहेको छ । यो कुरालाई निर्मुल गर्नुपर्छ र यो कुरालाई हामीले हटाएर फास्ट ट्र्याक एक्सनमा जानुपर्छ । 

अन्त्यमा कसैलाई केही भन्न चाहानुहुन्छ ?
हामीसँग सिमित स्रोत साधनका बिचमा धेरै चाहनाहरु छन् । यसलाई हामी क्रमगत रुपमा गर्दै लिएर जाने छौँ । विकासको क्रममा नगरपालिका अगाडी बढेको छ र केहि कानुनी जटिलताहरुको कारणले गर्दा हामीले सकिरहेका छैनौँ । सरकारले जुन प्रकारले समानिकरण र वित्तिय बजेटहरु हामीलाई दिएको छ । त्यो पनि अपुरो र अपुग छ भन्ने कुरो हाम्रो छ । इटहरी नगरपालिकाले यान्त्रिक आय आफ्नो वृद्धि गर्न नसकिरहेको अवस्था पनि छ । र यसले चाँडैनै विकासको गति लिन्छ भन्ने कुरामा म विश्वस्त छु ।