​‘विकासमा राजनीति नगरौं’ : बालकृष्ण विष्ट, वडाध्यक्ष

Newslaya Home

​‘विकासमा राजनीति नगरौं’ : बालकृष्ण विष्ट, वडाध्यक्ष

आइतबार २०, माघ २०७५

सुनसरीको इटहरी पूर्वकै उदाउँदो अर्थतन्त्र बोकेको शहर हो । यहाँ आर्थिक गतिविधि जति धेरै हुन्छ, यहाँका जनप्रतिनिधिहरुको मेहेनत उत्तीनै छ । जनप्रतिनिधि आइसकेकेको डेढ वर्षको अवधिमा इटहरीमा धेरै विकास निर्माणका काम भइरहेका छन् । इटहरीका विभिन्न वडाका वडाध्यक्षहरुसँग विकास, निर्माण र समस्याको विषयमा कुराकानी गर्ने क्रममा इटहरी ३ को वडाध्यक्षबालकृष्ण विष्टसँग  न्युजलयकी सरिता भण्डारीले गरेको कुराकानी :

आजभोली केमा व्यस्त हुनुहुन्छ ?
आजभोली वार्डको आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन हुने योजनाहरुको विषयमा उपभोक्ता समिति गठन गर्ने र परिचालन गर्ने कामहरुमा व्यस्त छौँ ।

वडाको विकासको अवस्था कस्तो छ ?
हाम्रो वार्ड इटहरी उपमहानगरपालिकाको दुर्गम वार्डमध्ये एक हो । जहाँ धेरै गरिबहरुको बसोबास रहेको छ । यो वार्डलाई बुढी खोला, सेरा खोला र टेंग्राखोला गरी तिन वटा खोलाले तीन तिरबाट घेरेको छ । यहाँको ठुलो चुनौती भनेको खोलाले कटान गर्ने, डुबान गर्ने, जनधनको क्षति गर्ने लगायत रहेको छ । 
यस वडामा नेपालको पर्यटकिय स्थल तालतलैया पनि रहेको छ । तर यहाँ आउने बाटाहरु धुलाम्मे छन् । यी बाटाहरुलाई बनाउनुपर्ने महत्वपुर्ण काम पनि रहेको छ । जनताका धेरै आकांक्षा र चाहना छन् । यि चाहाना पुरा गर्न तत्कालको लागि हामि नयाँ छौँ । धेरै कुराहरु बुझेका छैनौँ । ऐन कानुनहरु पनि स्पष्ट छैनन् । त्यसले गर्दा हामिलाई धेरै कुराको समस्या छ तर पनि हाम्रो साधन स्रोतले भ्याएसम्म केहि कामहरु गर्ने कोशिस गरिरहेका छौँ । 

वडाको कुन कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ? 
पहिलो प्राथमिकता भनेको यहाँको पर्यटकिय स्थल तालतलैया आउने बाटो, बुढी खोला, सेरा खोला, टेंग्रा खोला नियन्त्रण अनि शाखा उपशाखा बाटाहरु पनि पिच हुन सकिरहेको छैन । ग्राभेल चाहिँ लगभग बनाइसकेका छौँ ।

वडाको मुख्य समस्याहरु के के छन्  ?
यहाँको मुख्य समस्या भनेकै नदी नियन्त्रण र बाटाघाटाहरु नै हुन् । विद्यालयहरु पनि एकदमै सुस्त गतिमा चालिरहेका छन् । त्यसलाई अगाडी बढाउने प्रयास गरिरहेका छौँ ।
त्यस्तै सामुदायिक स्वास्थ्य केन्द्रमा एक जना मात्रै जनशक्ति भएकोले समस्या भइरहेको छ । यहाँबाट इटहरी जानको लागि पनि ५/६ किलो मिटरको दूरी छ त्यसमा पनि बाटोको समस्या भएकोले गर्दा स्वास्थ्य क्षेत्रमा पनि स्तरोन्नति गर्नुपर्ने आवश्यक्ता छ । 

तपाईलाई कर्मचारीहरुले कत्तिको सहयोग गरिरहेका छन् ? 
कर्मचारीहरुले सहयोग गरिरहनु नै भएको छ । अहिले कर्मचारीहरु थोरै छन् र ठुलो क्षेत्र, जनसंख्या मान्छेको काम धेरै, हामी पनि बिहान १० बजे देखि ४ बजेसम्म यहि कार्यालयमा खटिनुपर्ने र अन्य समय जनताहरुको अन्य कुराहरुमा लाग्नुपर्ने  । हाम्रो कर्मचारी संख्या पनि एकदमै न्युन छ । यद्यपी हामि धेरै खटेर काम गरिरहेका छौँ । सहयोग नै छ सबैको । 

वडाको विकासको विषयमा कोसँग के आग्रह र माग राख्नु भएको छ ? 
वडाको विकासको लागि माग गर्ने भनेको पहिलो त नगरपालिका नै हो । नगरपालिकादेखि लिएर हामिले संघिय सरकार र प्रदेश सरकारसँग पनि माग गरिरहेका छौँ । यो बुढीखोला नदी नियन्त्रण भनेको लगभग ५ किलो मिटरको क्षेत्र पूर्व भागमा पर्छ जुन सुनसरी खोलाको बोर्डरमा पनि पर्छ । त्यस्तै सेरा खोला र टेंग्रा खोला पनि ३ नम्बर वडाको ठुलो चुनौतीको रुपमा रहको छ । यिनिहरु करोडौँका योजनाहरु हुन् । 
तालतलैया जहाँ पर्यटकहरु आउने गर्दछन् त्यो बाटो पनि धुलाम्मे नै छ । यो बाटो बनाउन पनि नगरपालिकाले थोरै बजेट लगानी गर्छ । एक वर्षमा एक किलोमिटर मात्रै बाटो बन्छ । तालतलैया आउने बाटो ३ नम्बर वडामा मात्रै पाँच किलो मिटर रहको छ । अघिल्लो वर्ष एक किलोमिटर मात्रै बाटो बनेको थियो । अझै ४ किलोमिटर बाटो बनाउन बाँकी नै छ । नगरपालिकाले पनि अहिले ८० लाख रुपैया विनियोजन गर्ने कुरा भएको छ । तर त्यो पैसा पनि आउने नआउने सु–निश्चित छैन । 
यस्तै, अन्य साखा बाटाहरु पनि समस्याकै रुपमा रहेका छन् र प्रदेश सरकारले यो आर्थिक वर्षमा केहि लगानी गरेको देखिएको छैन । तर थोरै खोलाका नियन्त्रणको क्षेत्रमा भने काम गरेको छ । ४०/५० लाख जस्तो नदी नियन्त्रणको क्षेत्रमा लगानी गरेको देखिएको छ । र सडक बाटोको क्षेत्रमा प्रदेश सरकारले चासो दिएर अगाडी बढाउनको लागि पनि जरुरी छ ।
 
के भयो भने वडाको विकास चाँडो हुन्छ होला ? 
वडाको विकासको लागि यहाँको जनताहरु त सहकार्य गर्नको लागि तयारी नै छन् । तर राजनीतिक सिस्टम, केन्द्रिय सरकार एकातिर कुदिरहेको छ, संघिय सरकार अर्कोतिर कुदिरहेको छ । यो राजनीतिक माहोलले गर्दा पनि हाम्रो कुराहरु प्रदेशमा, केन्द्रमा सुनुवाइ भएको छैन । जनताको आवश्यक्ता के हो त्यो कुरा पहिचान हुँदैन रहेछ । नेताहरुका कुरा सुनिदो रहेछ । र हामिलाई समस्या भनेको के छ भने हाम्रो कुरा महत्वपूर्ण तत्काल नगरी नहुने कुरा भएता पनि यो राजनीतिक विचार र आस्थाले गर्दा हामिले योजनाहरु दिने कुरामा संघिय सरकार र प्रदेश सरकारले एउटा ठुलो भेदभाव गरिरहेको छ । 

पटक पटक हामीले संघिय संसददेखि लिएर प्रदेश सरकारसँग अनुरोध गर्यौँ । यो हाम्रो टोल खोलाले कटान गर्दा अघिल्लो वर्षको धेरै जनधनको क्षति भएको थियो । उहाँहरुले यो कुरालाई आवश्यक नठानेर हो कि उहाँहरुले कुरा गर्नु भएको छैन । नगरपालिकाको सिमिते स्रोत र साधनले कति दिन काम गर्ने ? त्यसैले प्रदेश सरकारले केन्द्रिय सरकारले अलिक मोटो रकम दिनुपर्ने हो आवश्यक्ताको आधारमा । तर राजनितिक विचारको आधारमा बजेटहरु विनियोजन भए । 

अन्त्यमा कसलाई के भन्न चाहनुहुन्छ ?
म समग्र वडावासी, इटहरी नगरवासी र संघिय संसदका मन्त्री ज्यूहरु नेता ज्यूहरु, समाजिक अभियन्ताहरुहलाई के भन्न चाहन्छु भने विकासमा राजनीति गर्नु हुँदैन । आवश्यक कुरा र अति आवश्यकका कुराहरुलाई पहिलो प्राथमिकता दिनुपर्छ । त्यसैले विकास निर्माणको विषयमा सबैजना एकजुट हौँ र आवश्यक्ताका आधारमा विकासलाई अगाडी बढाऔँ ।