​आजबाट श्री स्वस्थानी व्रतकथा प्रारम्भ

Newslaya Home

​आजबाट श्री स्वस्थानी व्रतकथा प्रारम्भ

सोमबार ०७, माघ २०७५

काठमाडौं । आज (सोमबार)पौषशुक्ल पूर्णिमा अर्थात् आजबाट एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी परमेश्वरीको व्रतकथा प्रारम्भ हुँदैछ। 
 
यस अवसरमा आजैदेखि माघशुक्ल पूर्णिमासम्म श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी कथा सुन्ने–सुनाउने गरिन्छ। पञ्चांगहरूमा सोमबार पौषशुक्ल पूर्णिमा बिहान  ११ः३० बजेसम्म उल्लेख छ।
 
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत गरेको र मनोकाङ्क्षा पूर्ण भएपछि उनकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको व्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ। 
 
यस पर्वमा विशेषगरी महिलाहरू बिहान उठेर स्नान गरी नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने व्रत समेत बस्ने गर्छन्।
 
श्री स्वस्थानी परमेश्वरीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ।  काठमाडौँ उपत्यका नजिकै रहेको शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको व्रत बस्छन्। 
 
आजैदेखि माघेस्नान अर्थात् मकरस्नान पनि सुरु भएको छ।